Kathmandu Press

कञ्चनपुरमा डेङ्गु सङ्क्रमण न्यून

कञ्चनपुरमा डेङ्गु सङ्क्रमण न्यून

कञ्चनपुर, कात्तिक २३ : कञ्चनपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ह्वात्तै घटेको छ । बढ्दो चिसोसँगै डेङ्गु सार्ने लामखुट्टेको वृद्धि विकासमा कमी आएसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या घटेको हो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार गत अक्टुबर महिनामा ४० जनामा डेङ्गुको सङ्क्रमण देखापरेकामा नोभोम्बर महिनाको हालसम्म तीन जनामा मात्रै डेङ्गुको सङ्क्रमण देखापरेको छ ।

जनवरीमा दुई, मेमा दुई, जुनमा चार, जुलाइमा तीन, अगष्टमा १४ र सेप्टेम्बरमा सबैभन्दा बढी एक सय २१ जनामा डेङ्गुको सङ्क्रमण देखापरेको छ । 'वर्षाको सफा पानीमा डेङ्गु सार्ने लामखुट्टेले लार्भा हुर्काउँछ, वर्षा हुने क्रमम रोकियो,' उनले भने, 'मौसम चिसो हुन थालेपछि प्रतिदिन डेङ्गुका बिरामीको सङ्ख्यामा कमी आएको छ।'

Hardik ivf

स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टका अनुसार साउन १ गतेदेखि कात्तिक २२ गतेसम्म कञ्चनपुरमा डेङ्गु सङ्क्रमित बिरामीको सङ्ख्या दुई सय ३४ पुगेको छ। दोधरा चाँदनीमा ५५, महाकाली अस्पाताल ६७, शर्मा प्रयोगशाला १९, लाइफ सेभर्स प्रयोगशाला एक, बेदकोट नगरपालिका १२, शुक्लाफाँटा नगरपालिकामा नौ, कृष्णपुर नगरपालिकामा १२ र पुर्नवास नगरपालिकामा ४१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ।

बेलौरी नगरपालिकामा १०, लालझाडी गाउँपालिका तीन, बेलडाँडी गाउँपालिकामा तीन, मन्त्र अस्पतालमा एक र जोशी प्रयोगशालमा एक जनमा डेङ्गुको सङ्क्रमण देखिएको औलो निरीक्षक भट्टले जानकारी दिए। सहरी क्षेत्रमा मात्रै बढी देखिने डेङ्गु ग्रामीण क्षेत्रमा समेत देखिन थालेको उनले बताए। भारतबाट काम गरी फर्केकाहरूमा डङ्गु भाइरसको सङ्क्रमण बढी देखिएको छ ।

'डेङ्गुको भाइरस सार्ने लामखुट्टेले सफा पानी रहने टयाङ्की, गाग्रो, दहीको कतारो, बाल्टिन ड्रम, गमला, टायरमा जमेको पानीमा फूल पार्ने र लार्भा हुर्काउने भएकाले त्यस्तो पानी फाल्ने र पानी जम्ने खाल्डाखुल्डी पुर्नेलगायत कार्य गर्नुपर्ने हुन्छ,' उनले भने।

डेङ्गुको भाइरस सार्ने लामखुट्टेले दिउँसोपख मात्रै टोक्ने भएकाले यसबाट बच्नका लागि पूरै शरीर ढाक्ने गरी कपडा लगाउने, मल्हमको प्रयोग गर्ने, राति र दिउँसो झुलभित्र सुत्ने, पानी जम्ने भाँडाकुँडाको पानी फाल्ने, खाल्डाखुल्डीमा पानी जम्न नदिने र झ्यालढोकामा जालीको प्रयोग गर्नुपर्ने उनको भनाइ छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गुको भाइरस सर्ने गर्दछ ।

डेङ्गुको कुनै किसिमको विशेष उपचार र खोप छैन । बिरामीमा देखिएका लक्षणका आधारमा उपचार हुने गरेको छ । यसैबीच, कञ्चनपुरमा साउन १ गतेदेखि कात्तिक २२ गतेसम्म एक सय ६६ जनामा स्क्रबटाइफस र ११ जनामा औलोको सङ्क्रमण देखापरेको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक भट्टले जानकारी दिए।

प्रकाशित मिति: १९:४६ बजे, बुधबार, कात्तिक २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्