ओलीले झुट बोले, सबै मिलेर चुच्चे नक्सा पारित गरेका हाैं : प्रधानमन्त्री
दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले मात्रै पास गरेको जस्तो गरेर झुटा कुरा गरिरहेको आरोप लगाए ।
काठमाडौं, कात्तिक २३ ः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो भनेर संसद्ले एक मतले पास गरेको बताएका छन्।
आज दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले मात्रै पास गरेको जस्तो गरेर झुटा कुरा गरिरहेको आरोप लगाए ।
‘कांग्रेस, माओवादी केन्द्रलगायतका सबै दल मिलेर एक आवाजमा संसद्बाट पास भएको हो,’ प्रधानमन्त्री देउवाले भने, ‘अहिले ओलीले अरुले केही गरेकै छैन, आफूले मात्रै गरेँ भनेर झुटो कुरा गर्दैछन्।’ उनले दार्चुलावासीका अगाडि ओलीले गफ लगाएको बताए।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले राष्ट्रलाई कुन दिशामा लैजाने भन्ने निर्णय लिने उनको भनाइ थियो । ‘अहिले धेरै किसिमका अफवाह फैलाउने काम भइरहेको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘मुलुकलाई समृद्ध बनाउन गठबन्धन दल एकजुट भएर अघि बढेको छ।’
उनले केही महिनाअघि दार्चुलामा नेपाल–भारत पक्की पुलको शिलान्यास भएको भन्दै उक्त पुल चाँडै निर्माण सम्पन्न हुने बताए । गोकुलेश्वर विमानस्थल सञ्चालनमा ल्याइने भन्दै देउवाले दार्चुलालाई दुई वर्षभित्र अँध्यारोमुक्त जिल्ला बनाइने प्रतिवद्धता व्यक्त गरे ।
‘दार्चुलालाई तुइनमुक्त क्षेत्र घोषणा गरिनेछ,’ उनले भने, ‘दार्चुला धेरै सम्भावना रहेको जिल्ला हो, यसको विकासमा हामी लाग्छौँ।











