केपी ओली बयलगाडा सिद्धान्तबाट पछि हटेका रहेनछन् : प्रचण्ड
'पार्टी एकता गरिसकेपछि थाहा भयो, होइन केपी ओली बदलिएका रहेनछन्, उनी त लुकेर बसिरहेका रहेछन्, उनी ढुकेर बसेका रहेछन् मौकाको ताकमा बसेका रहेछन्।'
काठमाडौं, कात्तिक २३ : नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओली अझैपनि वयलगाडा सिद्धान्तबाट पछि नहटेको पुष्टि भएको बताएका छन् ।
बुधबार बैतडीमा आोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघीय गणतन्त्र, संविधानमाथि बारम्बारको प्रहार गर्ने ओलीको क्रियाकलापले उनी बयलगाढा सिद्धान्तबाट पछि नहटेको प्रमाणित हुने बताएका हुन् ।
मुलुकमा संघीय गणतन्त्रको संविधान जारी हुँदासम्म ओलीले गणतन्त्रलाई बयलगाडासँग तुलना गरेपनि संविधानमा हस्ताक्षर गरिसकेपछि बुद्धि फिरेको अनुमान गरी आफ्नै प्रस्तावमा वाम गठबन्धन हुँदै पार्टी एकता गरेको प्रचण्डले बताए।
‘तर पार्टी एकता गरिसकेपछि थाहा भयो, होइन केपी ओली बदलिएका रहेनछन्, उनी त लुकेर बसिरहेका रहेछन्, उनी ढुकेर बसेका रहेछन् मौकाको ताकमा बसेका रहेछन् । आफू पावरमा आएपछि संविधान च्यात्ने उद्धेश्यले, मास्ने उद्धेश्यले, सबै उत्पीडित वर्ग समूदाय र क्षेत्रका जनताले पाएका अधिकार खोस्ने उद्धेश्यले पाखण्डी चरित्र देखाएका रहेछन्,’ प्रचण्डले भने ।
उनले अगाडि भने, ‘यी सबैबाट यही प्रमाणित हुन्छ, कि उनी बयलगाढा सिद्धान्तबाट पछि हटेका रहेनछन् , गोरुगाढा सिद्धान्त छाडेका रहेनछन् । उनको उद्धेश्य हर हालतमा यो जनयुद्ध र जनआन्दोलनबाट आएको परिवर्तन उल्ट्याउने र देशलाई फेरि निरंकुशतातर्फ लैजाने रहेछ ।’
प्रचण्डले ओलीले जनतासामु गएर मत माग्ने नैतिकता समेत गुमाइसकेको बताए । हुँदाखाँदाको दुई तिहाई विघटन गरेर फेरि दुई तिहाईको सरकार बनाउछु भन्दै भोट मागेको देख्दा आफै लज्जित हुने उनले बताए ।
‘केपी ओलीलाई फेरि बहुमत केका लागि चाहियो ? संविधान च्यात्न सकिन च्यात्न पर्यो भनेर बहुमत चाहियो ? सदनलाई पटकपटक विघटन गरेर नेपाली जनताका अधिकारको अपमान गर्नका लागि बहुमत चाहियो ? बचेखुचेको कम्युनिस्ट आन्दोलनलाई पनि धराशायी पार्न र ध्वस्त पार्नका लागि बहुमत चाहिएको हो ?’ प्रचण्डले प्रश्न गरे।











