Kathmandu Press

पूर्वप्रधानमन्त्री चन्दको गृहजिल्ला बैतडीमा राप्रपा कमजोर, गठबन्धनलाई बागीको डर 

कांग्रेसको टिकट वितरणप्रति असन्तुष्टि देखाएका केशवबहादुर चन्द प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार छन् ।
पूर्वप्रधानमन्त्री चन्दको गृहजिल्ला बैतडीमा राप्रपा कमजोर, गठबन्धनलाई बागीको डर 

काठमाडौं, कात्तिक २३ : बैतडीमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन र प्रतिपक्षी दल नेकपा (एमाले) का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

चार पटक मुलुकको कार्यकारी पद सम्हालेका पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृहजिल्लासमेत रहेको बैतडीमा उनको पार्टीको अवस्था भने कमजोर छ । सत्ता गठबन्धनबाट बैतडीमा नेकपा (माओवादी केन्द्र) का नरेन्द्रबहादुर कुँवर चुनावी मैदानमा छन्। कुँवरसित एमालेका दामोदर भण्डारीले प्रतिस्पर्धा गर्दै छन्। 
  
यी दुवैबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ । विसं २०७० र २०७४ को निर्वाचनमा विजयी भएर अर्थराज्यमन्त्रीसमेत भइसकेका भण्डारी तेस्रो पटक जितलाई निरन्तरता दिने रणनीतिका साथ चुनावी मैदानमा हुनुहुन्छ । भण्डारीको पक्षमा माहोल बनाउन पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि बैतडीमा चुनावी सभालाई सम्बोधन गरेका थिए। 

०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा भण्डारीलाई अहिलेका प्रतिस्पर्धी कुँवरले सघाएका थिए। । त्यसअघि ०६४ र ७० काे निर्वाचनमा भने यी दुइबीच नै प्रतिस्पर्धा भएकाे थियाे ।

त्यसैगरी सत्ता गठबन्धनका उम्मेदवार कुँवरको पक्षमा माहोल बनाउन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल आज बैतडी जाने कार्यक्रम तय भएको छ ।

०६४ मा कुँवरले भण्डारीलाई पराजित गरेका थिए । ०७० सालमा बेहोरेको हारको बदला लिने दाउमा कुँवर छन्। कुँवरलाई कांग्रेसको साथ छ । ०७४ मा वाम गठबन्धनको साझा उम्मेदवार बनेका भण्डारीले कांग्रेसका नरबहादुर चन्दलाई पराजित गरेका थिए भने  ०७० सालमा दुई वटा निर्वाचन क्षेत्र रहेका बेला भण्डारीले कांग्रेसका लोकराज अवस्थीलाई पराजित गरेका थिए । 

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा बैतडीमा  गठबन्धन दलको मत ५० हजार मत छ भने एमालेको ३५ हजार मत छ। गठबन्धन दलभित्रको असन्तुष्टिको फाइदा आफुलाई हुने भण्डारी बताउँछन् । 

माओवादी केन्द्र साङ्गठनिक रुपमा कमजोर देखिएको छ । तर सत्ता गठबन्धनको साथ रहेकाले निर्वाचनको मत परिणाम आफ्नो पक्षमा आउनेमा कुँवर आशावादी छन्। यता राष्ट्रिय प्रजातन्त्र पार्टीले भने स्थानीय तहको सम्पन्न निर्वाचनमा उपाध्यक्ष पदमा पराजित देवबहादुर चन्दलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

०४० देखि ०५९ सम्म चार पटक प्रधानमन्त्री भइसकेका लोकेन्द्रबहादुर चन्द यहाँबाट ०५१ मा निर्वाचितभएका थिए । उनी ०४०, ०४६, ०५३ र०५९ मा मुलुकको प्रधानमन्त्री भएका थिए। पूर्वप्रधानमन्त्री चन्द ०६४ मा समानुपातिकतर्फबाट सांसद भएका थिए । ०७० को निर्वाचनमा प्रत्यक्ष लडेका चन्द पराजित भएका थिए । सोही समयमा उनका छोरा जयन्त चन्द भने समानुपातिक सांसद भएको राष्ट्रिय प्रजातन्त्र पार्टी बैतडीका अध्यक्ष इन्द्रदेव शरण भट्ट बताउँछ्न ।

आसन्न निर्वाचनमा मत माग्न पूर्वप्रधानमन्त्री पुुत्र एवं पूर्वमन्त्री जयन्त चन्द बैतडीमा घरदैलोमा व्यस्त छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको अवस्था निकै कमजोर देखिएकाले आसन्न निर्वाचनमा जित निकाल्न कठिन हुने बताइन्छ । राप्रपाले गत स्थानीय तहको निर्वाचनमा पूर्वप्रधानमन्त्री चन्दको वडा सूर्नाया गाउँपालिका–२ मा मात्रै वडाध्यक्षसहित सदस्य जितेको थियो । 

‘बैतडीमा पालिका निर्वाचनमा पूर्वप्रमको वडामा मात्रै हामी प्यानलसहित विजयी भयौँ,’ भट्टले  भने, ‘एकाध ठाउँमा वडासदस्यबाहेक प्रतिस्पर्धामा सहभागी मात्रै भइयो।’ ०४८ मा तीन क्षेत्र रहेकोमा तीनवटैमा कांग्रेस विजयी भएको थियो। 

०५१ को मध्यावधि निर्वाचनमा दुईटै निर्वाचन क्षेत्रमा राप्रपाका उम्मेदवार तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द विजयी भएका थिए। त्यो बेला चन्दले एउटा क्षेत्र  छाडे। त्यसपछि उपनिर्वाचनमा भने कांग्रेसका केशवबहादुर चन्द विजयी भए। 

आसन्न निर्वाचनमा कांग्रेसको टिकट वितरणप्रति असन्तुष्टि देखाएका केशवबहादुर चन्द प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार छन् । उनलाई कांग्रेसले कारवाही गरिसकेको छ ।

नेपाली कांग्रेस बैतडीका सभापति एवं सत्ता गठबन्धन निर्वाचन समितिका संयोजक चतुरबहादुर चन्द स्थानीय तहको मत सङ्ख्या हेर्दा गठबन्धनले सहजरुपमा जित्ने दाबी गर्छन् । ‘माओवादीको स्थानीय तहको मतसङ्ख्या र उम्मेदवारका हिसाबले कमजोर उम्मेदवार भए पनि दुवै पार्टीको मतभारका कारण जित्ने अवस्था छ,’ उनले भने, ‘सत्ता गठबन्धनको सबैको प्रयास र मेहनतले निर्वाचन जित्छौँ ।’ 

उता गठबन्धनभित्रको असन्तुष्टि र दश वर्षसम्म आफूले गरेको काम नै आफ्नो जित्ने आधार रहेको एमाले उम्मेदवार भण्डारी बताउँछन्। ‘दश वर्षको काम जनताले देखेका छन्, समृद्ध बैतडीको सङ्कल्प लिएर चुनावमा होमिएको छु,’ उनले भने । 

दश पालिका रहेको बैतडीमा आसन्न निर्वाचनमा एक लाख ५० हजार एक सय ५६ मतदाताले मतदान गर्नेछन् । प्रतिनिधिसभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना चुनावी प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनका कुँवर, एमालेबाट भण्डारीसँगै स्वतन्त्रबाट केशवबहादुर चन्द चुनावी मैदानमा छन्। 

यस्तै राप्रपाबाट देवबहादुर चन्द, स्वतन्त्रबाट त्रिलोकबहादुर चन्द, नेश्नलिस्ट पिपल्स पार्टीबाट कृष्णबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशचन्द्र भट्ट, नेपाल मजदुर किसान पार्टीबाट कृष्णप्रसाद गोसार्इं, जनता समाजवादी पार्टीबाट आनसिंह भण्डारी र स्वतन्त्रबाट मानसिंह विष्ट चुनावी मैदानमा छन् ।

प्रदेशसभा ‘क’मा कांग्रेसका वीरबहादुर विष्ट र एमालेका सुरेन्द्र पाल तथा प्रदेशसभा ‘ख’मा कांग्रेसका शिवराज भट्ट र एमालेका लिलाधर भट्टबीच मुख्य प्रतिस्पर्धा हुनेछ। 

प्रकाशित मिति: ११:१४ बजे, बुधबार, कात्तिक २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्