Kathmandu Press

डोटीको भूकम्प प्रभावित क्षेत्रमा सेना र प्रहरी परिचालन 

डोटीको भूकम्प प्रभावित क्षेत्रमा सेना र प्रहरी परिचालन 

काठमाडौं, कात्तिक २३ : नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएको छ । रेडक्रसकर्मी र स्थानीयवासीसमेत उद्धारमा जुटेका छन् । 
  
डोटीको खप्तड क्षेत्र केन्द्रबिन्दु भएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पकपछि डोटीका धेरैजसो ठाउँमा सञ्चार सम्पर्क बिच्छेद भएको छ । 
 
यता कैलालीको धनगढीसहितका क्षेत्रमा भूकम्पको धक्का महसुस हुँदा राति धेरै सर्वसाधारण घर बाहिर निस्केका थिए । जिल्लामा अहिलेसम्म भूकम्पका कारण मानवीय क्षति भएको खबर नपाएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो ।
 
अछामको शान्तडा र मङ्गलसेन क्षेत्रमा कतिपय घर चर्केको त्यहाँस्थित प्रहरी निरीक्षक कैलास सिंहले जानकारी दिए । त्यहाँ मानवीय क्षति भएको खबर नआएको उनले बताए । डोटीका अन्य क्षेत्रमा धेरै व्यक्तिका घरमा चिरा परेको जानकारी आएको जोरायल गाउँपालिकाका मदनराज जोशीले जानकारी दिए। 

यसैबीच डोटीका समाजसेवी एवं नेपाली कांग्रेसका नेता पदमराज जोशीले भूकम्पबाट पीडित परिवारका लागि रु ५० हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका पदम बोहराको घर भत्किँदा उहाँकी श्रीमती ३५ वर्षीया भगवती बोहरा, १२ वर्षीया छोरी सीता, सात वर्षीय छोरा हर्क बोहराको च्यापिएर मृत्यु भएको थियो । पदम बोहरा भने हाल भारतमा छन्। 

यसैगरी सोही ठाउँका प्रेम बोहराको घर भत्किँदा निज बोहरासहित उनकी छोरी तुल्सी र धनसरा बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोला भट्टले जानकारी दिए। घरमा च्यापिएर घाइते भएका पाँच जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।  

प्रकाशित मिति: १०:४४ बजे, बुधबार, कात्तिक २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्