Kathmandu Press

प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेता भाेलि बैतडी र दार्चुला आउने

प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेता भाेलि बैतडी र दार्चुला आउने

काठमाडाैं, कात्तिक २२ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बुधबार बैतडी र दार्चुला आउने भएका छन।

प्रधानमन्त्री देउवा तथा अध्यक्षद्वय दाहाल र नेपालले बैतडीको पाटन तथा दार्चुलाको गोकुलेश्वरमा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको उक्त चुनावीसभाका लागि नेतात्रय आउने कुरा तय भएको कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए। संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई ध्यानमा राखेर चुनावीसभा आयोजना गरेको हो।

उक्त चुनावीसभाका लागि तयारी पूरा भएको संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका चुनाव प्रचारप्रसार संयोजक एवं नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिए। बुधबार नै नेतात्रयले दार्चुलाको गोकुलेश्वरमा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

बैतडीमा प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर तथा प्रदेशसभा (क) मा कांग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा (ख) मा कांग्रेसकै शिवराज भट्ट चुनावी मैदानमा छन।

यसैगरी दार्चुलामा प्रतिनिधिसभा सदस्यका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू तथा प्रदेशसभा (क) मा कांग्रेसका विक्रमसिंह धामी  र प्रदेशसभा (ख) मा माओवादी केन्द्रका मानबहादुर धामी चुनावी मैदानमा छन।

प्रकाशित मिति: २०:२७ बजे, मंगलबार, कात्तिक २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्