Kathmandu Press

कर्णालीको विकासलाई प्राथमिकतामा राखिन्छ : प्रचण्ड

कर्णालीको विकासलाई प्राथमिकतामा राखिन्छ : प्रचण्ड

काठमाडाैं, कात्तिक २२ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकास आफ्नो प्राथमिकतामा रहेको बताएका छन्। 
    
कर्णालीको विकासबारे सत्ता गठबन्धनका बैठकहरुमा पनि छलफल हुने गरेको भनदै उनले आगामी दिनमा आफूले यहाँको विकासका बारेमा थप जोड दिने प्रतिबद्धता व्यक्त गरे। 
 
जुम्लाको खलंगामा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले कर्णालीको जुम्लामा उत्पादन हुने मार्सी चामलको चर्चा अहिले निकै भएको भन्दै मार्सी चामललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक सहयोग गर्ने पनि बताए। 

उनले भने, ‘त्यो विषय मसँग पनि जोडियो । एक पटक मार्सी चामलको भात के खाएका थियौँ, निकै चर्चामा आयो । त्यसले बजारीकरणमा टेवा पुग्यो । यहाँको स्याउ, गेडागुडी, सिमी, स्याउको पनि उत्तिकै चर्चा छ । यसको उत्पादनमा वृद्धि गर्नाका साथै प्याकेजिङ र बजारीकरणमा विशेष जोड दिइने छ।’ 

यस्तै जुम्लाको सिञ्जा खस सभ्यताको उद्गमस्थल भएकाले यसको संरक्षण र प्रवद्र्धनका लागि प्रतिष्ठान गर्ने अध्यक्ष प्रचण्डले बताए। उनले गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन जुम्लाका नागरिकसँग आग्रह पनि गरे। उनले आफूहरु निरङ्कुशताका विरुद्ध १२ बुँदे सम्झौताहुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट प्रतिगमनविरुद्ध एकजुट भएर निर्वाचनमा होमिएको बताए।

अध्यक्ष प्रचण्डले संविधानको रक्षा गर्न र विकासको अर्को चरणको सुरुआत गर्न  नेपालमा निर्वाचनपछि वर्तमान गठबन्धनकै बहुमतको सरकार सञ्चालन हुने जानकारी दिए। 

प्रकाशित मिति: १६:४१ बजे, मंगलबार, कात्तिक २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्