बारा ४ : किसान श्रेष्ठलाई एमाले र स्वतन्त्र उम्मेदवारको डर

बारा, कात्तिक २२ : अगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेश सदस्य पदका लागि बारा निर्वाचन क्षेत्र नं ४ मा त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ ।
जिल्लामा चारवटा निर्वाचन क्षेत्र रहेकामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य पदमध्ये निर्वाचन क्षेत्र नं ४ मा तनहुँ जिल्लाका पूर्वमन्त्रीसमेत रहेका कृष्णकुमार श्रेष्ठ हाल बारा निर्वाचन क्षेत्र नं ४ मा नेकपा एकीकृत समाजवादीबाट चुुनावी मैदानमा उत्रिएका छन् भने जसपाबाट ०७४ निर्वाचित एकवाल मियाँ यसपालि नेकपा (एमाले)का उम्मेदवार छन् ।
यसैगरी स्वतन्त्र उम्मेदवारमध्ये इच्छाबहादुर वाग्लेको पनि राम्रै छवि भएकाले श्रेष्ठ, मियाँ र वाग्लेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो ।
सो निर्वाचन क्षेत्रमा पुरुष ५८ हजार एक सय ५२, महिला ४७ हजार आठ सय १२ र अन्य १६ गरी कुल एक लाख पाँच हजार नौ सय ७० मतदाताका छन् । त्यहाँ विभिन्न राजनीतिक दलबाट १० र स्वतन्त्र १० गरी २० जना चुनावी मैदानमा छन्।
प्रदेशसभातर्फ (क) मा पुरुष २७ हजार एक सय ८३ महिला २३ हजार तीन सय ६० गरी कुल ५० हजार पाँच सय ३३ मतदाताहरुमध्ये राजनीतिक दलबाट नौ, स्वतन्त्र चार गरी १३ उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा रहेका छन् । तीमध्ये एमालेबाट देवनारायण थारू र नेकपा माओवादी केन्द्रबाट क्षेत्रबहादुर श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।
यसैगरी प्रदेशसभा (ख) मा पुरुष ३० हजार नौ सय ७९, महिला २४ हजार चार सय ५२ र अन्य ६ गरी कुल ५५ हजार चार सय ३७ मतदाता छन् । जसमा लोकतान्त्रिक समाजवादीका जितेन्द्र सुनार सोनल र जसपाका आत्माराम प्रसाद साहबीच प्रतिस्पर्धा हुने देखिन्छ । जितेन्द्र प्रसाद सोनल विगतका प्रदेशसभाको निर्वाचनमा समेत विजयी भई मन्त्रीसमेत रहिसक्नु भएकाले उनको अवस्था राम्रो रहेको बताइएको छ।











