राना-श्रेष्ठ जोडीलाई वीर गणेशमान टेनिस पुरुष डबल्सकाे उपाधि
सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार भएको फाइनलमा प्रदीप खड्का र प्रणव खनालको जोडीलाई ७–६ र ४–६ (१०–५) ले हराएर ऋतिक र निशनको जोडी च्याम्पियन बनेको हो।
काठमाडौं, कात्तिक २१ : ऋतिक राना र निशन श्रेष्ठको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष डबल्सतर्फको उपाधि जितेका छन्।
सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार भएको फाइनलमा प्रदीप खड्का र प्रणव खनालको जोडीलाई ७–६ र ४–६ (१०–५) ले हराएर ऋतिक र निशनको जोडी च्याम्पियन बनेको हो। ३५ वर्षमाथिको पुरुष डबल्सतर्फको उपाधि कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले जितेका छन्।
फाइनलमा सन्तोष खत्री र सिमान्त गुरुङको जोडीलाई ६–१ र ६–३ ले हराएर कमल र यज्ञको जोडीले उपाधि हात पारेको हो।
यू–८ गर्ल्सको उपाधि सारा पन्तले हात पारेकी छिन्। फाइनलमा साराले थिया श्रेष्ठलाई १०–२ र १०–५ ले पराजित गरिन्। यू–१० को ब्वाइजतर्फ सुजन कुइकेल र गर्ल्समा साल्भी शेरचनले उपाधि हात पारे।
सुजनले फाइनलमा युभेन मान श्रेष्ठलाई ६–१ र ६–० ले तथा साल्भीले मेरिशा थापालाई ६–० र ६–१ ले पराजित गरिन्। यू–१२ गर्ल्सको उपाधि शिभाली गुरुङले जितेकी छिन्। शिभालीले फाइनलमा स्वस्तिका विष्टलाई ३–६,६–३ र ६–४ ले हराइन्।
पुरुष डबल्सको ४५ वर्षमाथि डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले फाइनलमा स्थान बनाएका छन्। यसै स्पर्धामा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीले फाइनलमा स्थान पक्का गरेका छन्।
पुरुष ५५ वर्षमाथि डबल्सको फाइनलमा कृष्ण घले र सुवर्ण धाखवाको जोडी र निरन्जन श्रेष्ठ र राम रानाको जोडीले प्रतिस्पर्धा गर्ने छन्। वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भईरहेको छ।











