च्याम्पियन्स लिग ड्र : गत सिजनका फाइनलिस्ट रियल र लिभरपुल अन्तिम १६ मै भिड्ने

काठमाडाैं, कात्तिक २१ : युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणको ड्र सार्वजनिक भएको छ। सोमबार सार्वजनिक ड्र अनुसार गत सिजनका फाइनलिस्ट रियल मड्रिड र लिभरपुल अन्तिम १६ मै भिड्ने भएका छन्।
रियल समूह एफको विजेताका रुपमा अन्तिम १६मा पुगेको थियो भने लिभरपुल समूह एको उपविजेता बनेको थियो । अघिल्लो सिजन फाइलनमा रियलले लिभरपुलमाथि १–०को जित निकालेको थियो ।
अर्का दुई हेभिवेट टिम फ्रेन्च क्लब पिएसजी र जर्मन क्लब वायर्न म्युनिख पनि अन्तिम १६मै भिड्ने भएका छन्। यी दुई टिम २०२०को फाइनलिस्ट हुन् ।
यस्तै, इंग्लिस क्लब म्यान्चेस्टर सिटीले जर्मन क्लब आरबी लेइपजिगलाई प्रतिद्वन्द्वी पाउँदा चेल्सीले पनि अन्तिम १६मा जर्मन क्लबलाई नै प्रतिद्वन्द्वीका रुपमा पाएको छ। उसले बोरुसिया डर्टमन्डसँग खेल्ने छ। टोटनहमले क्वार्टरफाइनल प्रवेशका लागि इटालियन क्लब एसी मिलानसँग खेल्ने छ।
यता, पोर्चुगिज क्लब बेन्फिाकाले तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी पाएको छ । उसले बेन्जियन क्लब ब्रुगको सामाना गर्ने छ। अर्को पोर्चुगिज क्लब एफसी पोर्टोले इटालियन क्लब इन्टर मिलानसँग खेल्दा नापोलीले जर्मन क्लब फ्रांकफर्टसँग खेल्ने छ।
अन्तिम १६ को पहिलो लेग फेब्रुअरी १६ र १७मा हुने छ भने दोस्रो लेग फेब्रुअरी २३ र २४ मा हुने छ।











