Kathmandu Press

एमालेले एकल बहुमत ल्याउँछ, सरकार बनाउँछ : ओली

एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीको आयोजनामा आज (सोमबार) पोखरामा आयोजित कार्यक्रममा उनले एमाले पहिलो पार्टी बन्ने दाबी गरे। कांग्रेसभन्दा धेरै ठुलो पार्टी बन्ने बताएका हुन्।
एमालेले एकल बहुमत ल्याउँछ, सरकार बनाउँछ : ओली

पाेखरा, कात्तिक २१ : एमाले अध्यक्ष केपी ओलीले आउने निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गरेका छन्।

एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीको आयोजनामा आज (सोमबार) पोखरामा आयोजित कार्यक्रममा उनले एमाले पहिलो पार्टी बन्ने दाबी गरे। कांग्रेसभन्दा धेरै ठुलो पार्टी बन्ने बताएका हुन्।

सर्भेमा एमालेलाई कांग्रेसको हाराहारीमा सिट ल्याउने देखाउन खोजिए पनि एमालेले थोरै मतले नभई अत्यधिक मतले सबभन्दा अगाडि हुने दाबी गरे। ‘एमालेले एकल बहुमत ल्याउँछ, सरकार बनाउँछ,’ उनले भने।

एमालेले एकल बहुमत ल्याए पनि अहिले तालमेलमा रहेका दलहरुलाई सरकारमा सामेल गर्ने ओलीको भनाइ थियो। ओलीले मुलुकमा स्थायित्व, शान्ति र विकासका लागि चुनावमा एमालेको जित आवश्यक रहेको जिकिर गरे। 

उनले संसद् विघटन प्रतिगमन नभएको दाबी गरे। उनले शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप संसद्को अधिकारलाई खुम्च्याएर अदालतले परमादेश गरी आफ्नो सरकार अपदस्त गरेको भन्दै अदालतको समेत आलोचना गरे।

विचार नभएका, नीति नभएका गठबन्धनले फरकफरक घोषणापत्र सार्वजनिक गरेको उनको आरोप थियो । गन्तव्य नभएकाले फरकफरक घोषणापत्र बोकेर हिँडेको बताउँदै उनले गठबन्धनले जनतासँग झुटो आवश्वासन बाँडिरहेकाे बताए।
 
लिपुलेक लिम्पियाधुराको जमिन वार्तामार्फत फिर्ता ल्याउन सकिने र नेकपा एमालेले बहुमतको सरकार बनाएर वार्तामार्फत फिर्ता ल्याउने बताए। उनले आफूहरूले देशलाई प्रगतिको बाटोमा लगेको बताए। अध्यक्ष ओलीले देशमा सुदृढ राष्ट्रियशक्ति आवश्यक भएको र त्यो एमाले रहेकाे जिकिर गरे। 

एमालेले घोषणापत्रमा २० वटा ग्यारेन्टी क्षेत्र तोकेको बताउँदै उनले त्यसमा राष्ट्रिय समृद्धिका सबै कुरा समेटिएको बताए। सामाजिक सुरक्षाका क्षेत्रमा धेरै विषयलाई नेकपा एमालेले उठाउनुका साथै त्यसको व्यवस्थापन गर्दै आएको उनले बताए।

एमालेका संगठन विभाग प्रमुख एवं कास्की निर्वाचन क्षेत्र नं १ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार खगराज अधिकारीले गण्डकीलाई पर्यटन, कला संस्कृतिको विकास गरी नमूना प्रदेशका रुपमा विकास गर्न सकिने बताए।

पोखरालाई पर्यटनको राजधानी बनाउने बताउँदै उनले पोखरासहित समग्र गण्डकीको समृद्धि र विकासका लागि नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताए।

एमाले कास्कीका कार्यावाहक अध्यक्ष तेजनारायण अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सचिव बैनबहादुर अधिकारी क्षेत्री, उपसचिव दर्शन लामा लगायतले बोलेका थिए। 


 

प्रकाशित मिति: १५:४९ बजे, सोमबार, कात्तिक २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्