Kathmandu Press

विकासको काम गर्ने इच्छा  शक्तिसहित चुनावमा होमिएको छु : वरिष्ठ नेता पौडेल

विकासको काम गर्ने इच्छा  शक्तिसहित चुनावमा होमिएको छु : वरिष्ठ नेता पौडेल

काठमाडौं, कात्तिक २१ : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले विकासको काम गर्ने इच्छाशक्तिसहित आफू चुनावमा होमिएको बताएका छन्। 

तनहुँको बन्दीपुर गाउँपालिकास्थित झारगाउँमा आज आयोजित कोणसभामा बोल्दै वरिष्ठ नेता पौडेलले उम्मेदवार बन्न मात्र नभई काम गर्ने दृढ सङ्कल्प बोकेर आएको बताए।

‘देशलाई अहिले सुशासन चाहिएको छ, सुशासन कायम गरेपछि विकास सम्भव छ । अहिलेको गठबन्धन नेपाललाई सुशासन दिनका लागि बनेको हो,’ उनले भने। वरिष्ठ नेता पौडेलले आफूहरु जनतालाई ठूला सपना देखाउने पक्षमा नरहेको जिकिर गरे । ‘हामी रेल र पानीजहाजका कुरा गर्दैनौँ, जनताका आधारभूत आवश्यकताका कुरा गर्छौं, जे कुरा गर्छौं त्यो पूरा गर्छौं,’ पौडेलले भने।  

वरिष्ठ नेता पौडेलले कृषि क्रान्ति, पर्यटन र ऊर्जाले देश समृद्ध बन्ने बताउँदै त्यसतर्फ योजना बनाएर कार्यान्वयन गरिने बताए। ‘बन्दीपुरको पर्यटन विश्वमाझ प्रख्यात छ, यसलाई थप विकास गर्नेतर्फ हाम्रो ध्यान रहनेछ,’ पौडेलले भने। गाउँगाउँमा यातायात, बिजुली पुगे पनि रोजगारी नपुगेको भन्दै पौडेलले अब गाउँमा नै आम्दानी र रोजगारी पु¥याउन उद्योगधन्दा स्थापना गरिने दाबी गरे।

 देशलाई प्रतिगमनमा लैजाने षड्यन्त्र भएपछि पाँच दलीय गठबन्धन बनेको चर्चा गर्दै पौडेलले जनताको हातमा आएको अधिकार बचाउन सबै एकै ठाउँमा उभिएको बताए। ‘संविधान बचाउने सवालमा कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) को कुरा मिल्यो,’ उनले भने। गोरखामा नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार बन्दा त्यहाँ नेपाली कांग्रेसले र तनहुँमा आफूलाई नेकपा माओवादीले मत हाल्ने पौडेलको भनाइ थियो।  

प्रकाशित मिति: १४:२० बजे, सोमबार, कात्तिक २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्