सप्तरी–२ मा प्रतिष्ठाको लडाईँ : दुई पार्टीका अध्यक्ष र सत्ता गठबन्धनको महाभिडन्त
स्थानीय तहको मत जोड्दा एमाले–जसपा गठबन्धनका पक्षमा १९ हजार ६८ मत देखिन्छ भने सत्ता गठबन्धनको मत ३६ हजार आठ सय ९२ पुग्छ ।
काठमाडौं, कात्तिक २१ : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सप्तरी–२ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धनबाट बाहिरिँदै एमालेसँग चुनावी तालमेल गरेपछि सप्तरी–२ मा कडा प्रतिस्पर्धा हुने निश्चित छ ।
यहाँ जनमत पार्टीका अध्यक्ष सिके राउत र सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादीका (लोसपा)का केन्द्रीय सदस्य जयप्रकाश ठाकुर चुनावी मैदानमा छन् । सप्तरीमा जनमत पार्टीको लोकप्रियता बढ्दै गर्दा राउत पहिलोपटक चुनावी मैदानमा उत्रिएका हुन् ।
सत्ता गठबन्धनबाट बाहिरिएप्रति पश्चाताप नगर्न उपेन्द्रलाई यस ठाउँबाट जुनसुकै हालतमा जित्नुपर्ने दबाब छ । पूर्व उपप्रधानमन्त्री समेतको हैसियत बनाएका उपेन्द्रले यसपालि एमालेको दरो साथ पाउनेछन् । तर, एमालेको समर्थनले मात्रै चुनाव जित्न मुस्किल पर्ने जानकारहरुको आकलन छ ।
सत्ता गठबन्धन छाडेर एमालेसँग मिल्ने उपेन्द्रको निर्णयलाई गलत साबित गराउन गठबन्धनका दलहरु यसपालि उनलाई हराउन लाग्नेछन् । त्यसकारण गठबन्धनबाट उक्त क्षेत्र लोसपालाई दिएको हो । कांग्रेस र माओवादीको सम्पूर्ण भोट लोसपाका ठाकुरले पाए उपेन्द्र पराजित हुनसक्ने सम्भावना छ।
स्थानीय निर्वाचनमा सप्तरीमा राम्रै स्थान जमाउन सफल भएका सिके राउत यसपटक जनमत पार्टीको सांसदका रुपमा संसद प्रवेश गर्ने अभियानमा छन् । केही समयअघि मधेशमा सिके राउतप्रतिको जनलहर देखिन्थ्यो, पार्टीमा सक्रिय रुपमा नलागेपनि त्यहाँका युवा उनको पक्षमा रहेकाले यसपटकको निर्वाचनले पुराना नेताहरुलाई पाखा लगाउने आकलन पनि भइरहेका छन् । यसरी हेर्दा सप्तरी–२ को निर्वाचनमा तिन हेभिवेटबीच व्यापक प्रतिस्पर्धा हुने निश्चित छ ।
२०७४ सालको निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीको गठबन्धन तथा नेपाली कांग्रेससमेतको सर्मथनमा यादव उम्मेदवार बनेका थिए । त्यतिबेला उनी २१ हजार ६२० मत प्राप्त गरी विजयी भएका थिए । माओवादी केन्द्रका उमेश यादवले ११ हजार ५८० मत ल्याएका थिए । स्वतन्त्र उम्मेदवारी दिएका जयप्रकाश ठाकुरले ९ हजार ४५९ मत प्राप्त गरेका थिए ।
यसपटक परिस्थिति र गठबन्धन फेरिएको छ । विसं २०७४ को निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादव अहिले सत्ता गठबन्धनबाट क्षेत्र नं २ (ख) मा उम्मेदवार छन् । अघिल्लो चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित ठाकुर लोसपा प्रवेश गरेपछि सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका हुन् ।
कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ पाएकाले आफू बलियो अवस्थामा रहेको ठाकुरको दाबी छ। राजविराज नगरपालिकासहित महदेवा, छिन्नमस्ता र तिलाठी गाउँपालिका पर्ने यस क्षेत्रमा पछिल्लो स्थानीय तहको निर्वाचनमा दुई गाउँपालिकामा लोसपा र एक गाउँपालिकामा कांग्रेसले जित हात पारेको थियो ।
राजविराज नगरपालिकामा भने जसपाले जित हात पारेको थियो । गत स्थानीय तहको निर्वाचनमा जसपाले १५ हजार तीन सय ७५ र एमालेले तीन हजार छ सय ९३ मत प्राप्त गरेको थियो । यस्तै कांग्रेसले १३ हजार तीन सय १५, लोसपाले १३ हजार पाँच सय ४८, माओवादी केन्द्रले सात हजार सात सय ७६ र एकीकृत समाजावादीले तीन हजार दुई सय ७१ मत ल्याएको थियो ।
हालै समपन्न स्थानीय तहको मत जोड्दा एमाले–जसपा गठबन्धनका पक्षमा १९ हजार ६८ मत देखिन्छ भने सत्ता गठबन्धनको मत ३६ हजार आठ सय ९२ पुग्छ । यस आधारमा आफ्नो जीत सुनिश्चित रहेको सत्तापक्षीय गठबन्धनका साझा उम्मेदवार ठाकुरको भनाइ छ ।
जनमत पार्टीका अध्यक्ष डा राउतको उम्मेदवारीले सत्तागठबन्धन र विपक्षी गठबन्धनको धैरै मत तान्ने अनुमान गरिएको छ । बेरोजगार युवालाई स्वदेशमै रोजगारी, किसानको समस्या समाधान, स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारलगायत विषयमा गरेको प्रतिबद्धताले जनताले यसपटक आफूलाई अवसर प्रदान गर्ने राउतको भनाइ छ । उनले भने, ‘जनताले पुराना नेतालाई होइन, मलाई सहयोग गर्नेमा विश्वस्त छु ।’ ०७४ मा निर्वाचित भएपछि सप्तरी–२ को विकासका लागि निस्वार्थ भई काम गरेकाले यसपालि पनि जनताले आफूलाई नै विजयी गराउने यादव बताउँछन् ।
कृषि विश्वविद्यालय, जीर्ण अवस्थामा रहेको गजेन्द्रनारायण सिंह अस्पालतमा सुधार, नर्सिङ कलेज, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको तयारी, विभिन्न सडक सञ्जालको निर्माण र विस्तारलगायत संरचनाको निर्माण र स्थापनाको काम गरेकाले जनताले आउँदा पाँच वर्षका लागि मौका दिने उनको भनाइ छ ।











