विप्लवसहित तीन कम्युनिष्ट पार्टीले निर्वाचन बहिस्कार गर्ने घाेषणा

काठमाडाैं, कात्तिक २० : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित तीन वटा कम्युनिस्ट पार्टीले आगामी चुनाव बहिस्कार गर्ने भएका छन।
विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ गतेकाे निर्वाचन बहिस्कार गर्ने भएकाे हाे।
आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उक्त तीन दलले संयुक्त पत्रकार सम्मेलन गर्दै २६ देखि ३० कात्तिकसम्म विरोध प्रर्दशन र कोणसभालगायतका कार्यक्रम गर्ने सार्वजनिक गरेका छन।
कार्यक्रममा नेकपाका प्रवक्ता प्रकाण्डले संसदीय व्यवस्था रहेसम्म नेपालले सुखको श्वास फेर्न नसक्ने तर्क गर्दै अहिलेको चुनाव जनप्रतिनिधि छान्ने बहानामा पैसाको खोलो बगाएर मत किन्ने खेल भएको आरोप लगाए । उनले अहिलेको चुनावबाट जनताको प्रतिनिधिभन्दा पनि दलालहरु चुनिएर आउने भन्दै ‘दलाल संसदीय व्यवस्थाको चुनावलाई खारेज गर्ने’ बताए ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले अहिले संसदीय व्यवस्था नै कम्युनिस्टहरूको व्यवस्था जस्तो भएर आएको भन्दै कुनै पनि हालतमा जनवादविरुद्धको संसदीय चुनावलाई वैधानिकता नदिने बताए ।
त्यस्तै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’ आगामी निर्वाचन नाटक मात्र भएको भन्दै खारेज गरेरै छोड्ने बताए।











