नो नट अगेन फेसबुक पेजविरुद्ध कारबाही नगर्न सर्वोच्चकाे अल्पकालीन अन्तरिम आदेश
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले दायर गरेको रिटको सुनुवाइ गर्दै आइतबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले नो नट अगेन फेसबुक पेज र ग्रुप सञ्चालन गर्नेहरुविरुद्ध कारबाही अघि नबढाउन आदेश दिएको हो।
काठमाडौं, कात्तिक २० : सर्वोच्च अदालतले नो नट अगेन फेसबुक पेज र ग्रुप सञ्चालन गर्नेहरुविरुद्ध कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले दायर गरेको रिटको सुनुवाइ गर्दै आइतबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले नो नट अगेन फेसबुक पेज र ग्रुप सञ्चालन गर्नेहरुविरुद्ध कारबाही अघि नबढाउन आदेश दिएको हो।
सर्वोच्चले आयोग र रिट निवेदकसँग लिखित जवाफ पनि माग गरेको छ। सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई २४ गते छलफल गर्न बोलाएको छ।
उम्मेदवारहरुविरुद्ध लाञ्छनायुक्त अभिव्यक्ति दिएको आरोप लगाउँदै निर्वाचन आयोगले नो नट अगेन अभियानको फेसबुक पेज र ग्रुप बन्द गर्न निर्देशन दिएको थियो। त्यसविरुद्ध त्रिपाठी र आचार्यले सर्वोच्चमा रिट निवेदन दिएका थिए।
आयोगले नेपाल प्रहरीको साइबर ब्युरोलाई नो नट अगेन पेजमार्फत दलका नेताविरुद्धको अभिव्यक्ति र आक्रोशजन्य सामग्रीबारे अनुगमन गर्न र त्यसको पेजलाई विद्युतीय कारोबार ऐनअनुसार कारबाही गर्नसमेत आग्रह गरेको थियो।