प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीकाे दोस्रो जित
त्रिवि खेल मैदान, कीर्तिपुरमा आइतबार भएको खेलमा लुम्बिनीले प्रदेश १ लाई ३९ रनले पराजित गरेको हो। जितको लागि २९१ रनको लक्ष्य पाएको प्रदेश १ ले ४६ ओभरमा २५१ रन जोड्दा अलआउट भयो।
काठमाडाैं, कात्तिक २० : लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित हात पारेको छ।
त्रिवि खेल मैदान, कीर्तिपुरमा आइतबार भएको खेलमा लुम्बिनीले प्रदेश १ लाई ३९ रनले पराजित गरेको हो। जितको लागि २९१ रनको लक्ष्य पाएको प्रदेश १ ले ४६ ओभरमा २५१ रन जोड्दा अलआउट भयो।
प्रदेश १ का सिद्धान्त लोहनीले ७४, अंकित सुवेदीले ५२, निरज मुखियाले ४६ रन बनाएपनि टोलीलाई जिताउन सकेनन्। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २९० रन बनाएको थियो।
जसमा कप्तान देव खनालले अर्धसतकीय पारी खेल्दै ८९ रन बनाए। यस्तै आकाश त्रिपाठीले ४५, सन्दीप रजालीले ४४, बिशाल विक्रम केशीले ३२, कृष्ण कार्कीले ३१ रन बनाए। जितसंगै लुम्बिनी २ खेलबाट चार अंक जोड्दै तेस्रो स्थानमा पुगेको छ। मधेश पनि समान ४ अंकका साथ दोस्रो स्थानमा छ। नेपाल पुलिस क्लब ६ अंकका साथ यो समूहको शिर्ष स्थानमा रहेको छ।
त्यस्तै मुलपानी क्रिकेट मैदानमा आइतबार नै त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले हराएको छ। आर्मीले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३२ ओभर २ बलमा अलआउट हुँदै ९६ रनमा समेटियो। त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीको लागि कप्तान विनोद भण्डारीले अर्धशतकीय इनिङ खेले।
उक्त जितसँगै आर्मीले ३ खेलबाट ४ अंक बनाउँदै सेमिफाइनलको सम्भावना कायम राखेको छ। पराजित गण्डकीको ४ खेलबाट ५ अंकसहित दोस्रो स्थानमा यथावत रहेको छ। यस समूहबाट एपीएफ क्लब तीन खेल जितेर सेमिफाइनलमा प्रवेश गरिसकेको छ।











