काभ्रेकाे खानीखोलामा गठबन्धनको पक्षमा माहाेल बन्दै
गठबन्धन दलबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार सुर्यमान दोङ (लालध्वज) र सोही क्षेत्रको प्रदेशसभा (ख) का उम्मदेवार तिर्थ लामाको पक्षमा जनलहर देखिएकाे हाे।
खानीखोला (काभ्रेपलाञ्चाेक), कात्तिक २० : जिल्लाको खानीखोला गाउँपालिकामा सत्ता गठबन्धन दलको उम्मेदवारको पक्षमा जनलहर देखिएकाे छ। गठबन्धन दलबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार सूर्यमान दोङ (लालध्वज) र सोही क्षेत्रको प्रदेशसभा (ख) का उम्मदेवार तीर्थ लामाको पक्षमा जनलहर देखिएकाे हाे।

उम्मेदवारद्वय सूर्यमान र तीर्थ अहिले खानीखोलाको विभिन्न वडाका मतदातासँग भेटघाटमा व्यस्त छन्। शुक्रबार खानीखोला गाउँपालिका–१ स्थित् दाहालडाँडाबाट सुरु भएको मतदाता भेटघाट कार्यक्रम शनिबार खानीखोलाको वडा नम्बर ५ को ताल्ढुङ, वडा नं. ६ को देउराली र वडा ७ को महांकालमा कोणसभा भएका थिए।

ताल्ढुङमा सूर्यमान र देउरालीमा तीर्थ र महांकालमा संयुक्त रुपमा कोण सभालाई सम्बोधन गरेका छन्। कोणसभा बोल्दै प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार सूर्यमानले खानीखोलामा अबको केही महिनाभित्र नै केन्द्रिय विद्युत बाल्ने बताए। उनले खानीखोलाको समग्र विकासका लागि कुनै कसुर बाँकी नराखी प्राथमिकताका साथ काम गर्ने बताए।

त्यस्तै प्रदेश सभा ख का उम्मेदवार तिर्थले खानीखोलाको गरिबी अन्त्य गर्ने बताए। शिक्षा, स्वास्थ्यसँगै आर्थिक जीवनस्तर उकास्ने लगायतका आधारभूत आवश्यकता पुरा गर्ने प्रतिवबद्धता व्यक्त गरे। आज फलामेटार, दयागाउँ लगायतका क्षेत्रमा मतदातासँग भेटघाट कार्यक्रम रहेको संयुक्त बाम लोकतान्त्रिक गठबन्धन प्रचारप्रसार समितिले जनाइएको छ।












