Kathmandu Press

‘निर्वाचनपछि कांग्रेसको  नेतृत्वमा स्थायी सरकार बन्छ’

‘निर्वाचनपछि कांग्रेसको  नेतृत्वमा स्थायी सरकार बन्छ’

काठमाडौं, कात्तिक २० : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी मङ्सिरमा हुने निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा स्थायी सरकार निर्माण हुने बताएका छन्।

प्रवक्ता डा महतले भने, ‘लामो समयदेखि अवरुद्ध विकास प्रक्रियालाई गति दिन तथा नेपालको समृद्धिका लागि पनि कांग्रेसको नेतृत्वमा सरकार आवश्यक छ र आगामी निर्वाचनपछि यस्तो सरकार बन्छ।’ 

आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘विभिन्नरुपमा संविधानको मूल मर्ममाथि प्रहार हुन थाल्यो । प्रतिगामी विभिन्न बहानामा सल्बलाउने जस्तो देखियो र नेपाली जनताले नै वर्तमान सरकारको चाह गरेका हुन् । अब पनि संविधानको रक्षा र देशको विकास गर्नु छ, हाम्रो यही दायित्व बहन गर्न कांग्रेस नेतृत्वको सरका आवश्यक हो।’ 

प्रवक्ता डा महतले यो निर्वाचन सबैका लागि कोसेढुङ्गा सावित हुने पनि बताए। उनले निर्वाचनपछि मुलुकमा स्थायी सरकार बन्नेमा जोड दिए। उनले निर्वाचनमा कांग्रेस नेतृत्वको वर्तमान सत्ता साझेदार दलको गठबन्धनले नै स्पष्ट बहुमत हासिल गर्ने बताए। ‘यो निर्वाचनमा स्पष्ट बहुमत कांग्रेसको पक्षमा आउँछ र कांग्रेसकै नेतृत्वमा सरकार पनि बन्छ।’ 

उनले भने, ‘हिजो संसद्मा नेपाली कांग्रेस थोरै सिटका साथ उपस्थित थियो र पनि नेपाली जनता तथा कांग्रेसबाहेकका अन्य पार्टीले कांग्रेसकै नेतृत्वको अपेक्षा गरे भने अबको चुनावपछि त कांग्रेस पहिलो पार्टी नै बन्ने निश्चित छ।’ प्रवक्ता महतले नेपाली कांग्रेसले आगामी चुनावमा समानुपातिकमा मत प्रतिशत पहिलेको तुलनामा धेरै बढाउने बताए। 
    
गठबन्धनका दलको उदेश्य एउटै भएकाले गठबन्धन गरिएको हो भन्दै चुनावपछि यही गठबन्धन मिलेर सरकार बनाउने र देशमा विकासको लहर ल्याउने उनको दाबी थियो।  

प्रकाशित मिति: १२:४२ बजे, आइतबार, कात्तिक २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्