लोकतान्त्रका नाममा लुटतन्त्र मच्चियो : लिङ्देन
शनिबार गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले वाइडबडी, ललितानिवासदेखि स्थानीय तहसम्म पुगेर लोकतन्त्रको नाममा भ्रष्टाचार मच्चाइरहेको आरोप लगाए।
गाेरखा, कात्तिक १९ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चिएको बताएका छन् । शनिबार गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले वाइडबडी, ललितानिवासदेखि स्थानीय तहसम्म पुगेर लोकतन्त्रको नाममा भ्रष्टाचार मच्चाइरहेको आरोप लगाए।
विभिन्न पार्टी भनेर देखावटी भनाभन गरेपनि भ्रष्टाचार गर्ने बेलामा सबै एक ठाउँमा उभिने परिपाटी ठूला भनिएका राजनीतिक दलहरुमा रहने गरेको बताए । उनले भने, ‘यो देशमा कसले खाएको छैन, वाइडबडीमा कसले खाएको छैन, ललिता निवास जग्गा प्रकरणमा कसले खाएको छैन । माथिको के कुरा गर्नुहुन्छ, गाउँतिरै हुने भ्रष्टाचारमा कुन पार्टी खाएका छन् ।’
यस्तै, उनले आजै नवलपरासीको कावासोचीमा आयोजित कार्यक्रममा कांग्रेस र कम्युनिष्टहरुले विगत ३० वर्षको अवधिमा देशलाई बेरोजगार उत्पादन गर्ने थलो बनाएको उनले आरोप लगाए । ‘रोजगारीको अवसर छैन, युवा विदेशिएका छन् । किसानले चाहिँदा मल बिउ पाउँदैनन्,’ उनले भने, ‘राप्रपाले अवसर पाए ती सबै समस्याको सामाधान गर्छ ।’
उनले एमाले र राप्रपाको तालमेलले देशलाई अग्रगमनमा लैजाने दाबी गरे । अध्यक्ष लिङ्देनले भने, ‘एमाले र राप्रपाबीच प्रतिस्पर्धा हुने अवस्था देख्छु म । यो पटकको निर्वाचनमा पटक–पटक परीक्षणमा असफल भइसकेका कांग्रेस र कम्युनिष्टलाई मत दिएर पछुताउनेबाहेक काम हुँदैन।’
उनले निर्वाचन र शासकीय प्रणालीमा आमुल परिवर्तन नगरेसम्म देशमा विकास नहुने ठोकुवा गरे । मान्छेले मान्छेको भोट खरिद बिक्री बन्द नगरेसम्म देशमा परिर्वतन नहुने उनको दाबी थियो । कस्तो निर्वाचन प्रणाली र शासकीयस्वरुप चाहिने भन्ने उनले प्रस्ट बोलेनन् ।











