प्रधानमन्त्री कप पुरुष क्रिकेटमा सेमिफाइनलमा एपिएफ

काठमाडौं, कात्तिक १९ : विभागीय टोली एपिएफ क्लब पिएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
टियु क्रिकेट मैदानमा शनिबार कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै एपीएफले अन्तिम चारको यात्रा तय गरेको हो। एपीएफले दिएको २ सय ३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४८ ओभर १ बलमा अलआउट हुँदै ९० रन मात्र बनाउन सक्यो।
कर्णालीका लागि रविन्द्र शाहीले ८० रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै विपिन शाहीले ३४ रन जोड्दा अर्जुन घर्तिले २४ तथा दिनेश अधिकारीले २० रन बनाए। एपीएफका मौसम ढकालले ४ विकेट लिए। कमल ऐरी र भुवन कार्कीले २–२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४७ ओभर २ बलमा अलआउट हुँदै २ सय ३४ रन बनाएको थियो। एपीएफका लागि आसिफ शेखले १ सय ३० रनको शतकीय इनिङ खेले। कर्णालीका दीपेन्द्र रावत र प्रकाश जैसीले ३–३ विकेट लिए। दिवन पुनले २ विकेट लिए। यस जितसँगै एपीएफले समूह ए बाट सेमिफाइनलमा स्थान पक्का गरेको हो।
त्यस्तै मुलपानी क्रिकेट मैदानमा शनिबार लुम्बिनी प्रदेशलाई ९२ रनले हराउँदै मधेश प्रदेशले दोस्रो जित निकालेको छ। मधेशले दिएको २ सय ६० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले ४९ ओभर १ बलमा अलआउट हुँदै १ सय ६७ रन मात्र बनाउन सक्यो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेशले ४८ ओभर ४ बलमा अलआउट हुँदै २ सय ५९ रन बनायो। जितसँगै मधेशले ३ खेलमा ४ अंक जोडेको छ। समूह बी को मधेश दोस्रो स्थानमा रहेको छ। लुम्बिनी ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ। क्यानले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ। हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन। प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्। यस्तै उपविजेताले ५ लाख पाउने छन्। सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन्।
त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन्।











