संविधानमा रहेका त्रुटि र अपूर्णतालाई सर्वस्वीकार्य ढंगले संशोधन गर्नुपर्छ : यादव

काठमाडौं, कात्तिक १९ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएको र विकृति पैदा गरेको भन्दै यस्तो निर्वाचन प्रणालीले निरन्तरता पाए सामान्य नागरिकले चुनाव लड्न नसक्ने अवस्था आउने बताएका छन्।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीका तर्फबाट प्रतिबद्धतापत्र (घाेषणापत्र) सार्वजनिक गर्दै उनले मुलुकको न्यायप्रणालीको पनि पुनसंरचना गर्नुपर्ने धारणा राखे।
अध्यक्ष यादवले संसदबाट दुईपटक पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नगर्नुले धेरै आशंका पैदा भएको र भविष्यमा यसले राम्रो उदाहरण नलिने तर्क गरे। सरकारले विधेयक पास गर्ने र राष्ट्रपतिले प्रमाणीकरण नगर्ने हो भने सिष्टम नै कोल्याप्स हुने उनको भनाइ छ।
उनले नेपाली नागरिकलाई नागरिकता दिन लामो समयदेखि नै संघर्ष गर्दै आएको उक्त मुद्दा अहं भएको बताए।
त्यस्तै कार्यक्षमताको अभाव र खराब आचरण भएको वस्तुनिष्ठ आधार र कारणहरू भएमा सबै तहका सरकारको पदाधिकारीहरूमाथि प्रत्याह्वान गर्न वा महाअभियोग लगाउन सकिने व्यवस्था गर्नेु पनि जसपाको घोषणापत्रमा उल्लेख छ।
सांस्कृतिक बहुलता र जनताको धार्मिक स्वतन्त्रताको रक्षा गर्दै धर्मनिरपेक्ष राज्यको सिर्जना गर्न तथा मुलुकको सामाजिक सद्भाव विथोल्ने जातिवादी र रंगभेदी नीतिको साथै वर्गीय, जातीय, क्षेत्रीय, लैंगिकलगायत सबैखाले उत्पीडनको अन्त्य गर्ने जसपाले जनाएको छ।
संविधानमा रहेका त्रुटि र अपूर्णताहरुलाई संविधान संशोधनमार्फत पूरा गर्दै सर्वस्वीकार्य बनाउँदै राष्ट्रको उत्थान गर्ने जसपाको घोषणापत्रमा उल्लेख छ ।











