Kathmandu Press

सबैको सहयोगले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचनः आयुक्त जबरा

'निर्वाचन आयोगले मात्र भयरहित वातारणमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन सक्दैन', आयुक्त जबराले भने,'यसमा राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मीलगायत सबै सरोकारवालाहरुको हातोमालो जरुरी छ।' 
सबैको सहयोगले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचनः आयुक्त जबरा

काठमाडौं, कात्तिक १९ : निर्वाचन आयोगका आयुक्त सगुनशमशेर जबराले आगामि मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्। 

निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा आज जनकपुरधाममा आयोजित ‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आयुक्त जबराले निर्वाचन आयोगको एक्लो प्रयासबाट स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रुपमा निर्वाचन सम्पन्न हुन नसक्ने भएकाले यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए। 

'निर्वाचन आयोगले मात्र भयरहित वातारणमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन सक्दैन', आयुक्त जबराले भने,'यसमा राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मीलगायत सबै सरोकारवालाहरुको हातोमालो जरुरी छ।' 
उहाँले निर्वाचन आचारसंहिता पालन गर्न सबैपक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो। 'निर्वाचन आयोग कसैलाई पनि कारबाही गर्न इच्छुक छैन', आयुक्त जबराले भने, 'तर निर्वाचन आचारसंहिता उल्लङ्घन भइरह्यो भने आयोग चुप लागेर बस्दैन, अब स्पष्टीकरण मात्र सोधिने होइन जरिवाना पनि गर्न सुर गरिसकेका छौँ।' 

विगतको निर्वाचनहरुभन्दा अहिलेको निर्वाचनमा आचारसंहिता उल्लङ्घनमा कमी आएकोप्रति आयोग सन्तुष्ट रहेको उल्लेख गर्दै उनले आयोगले केन्द्रदेखि जिल्ला तहसम्म अनुगमन समितिहरु बनाएर निर्वाचन आचारसंहिताको अनुगमन गरिरहेको बताए। 

निर्वाचन क्षेत्रमा मतदाता, मतदान केन्द्र र भूगोललाई आधार बनाएर उम्मेदवारहरुको खर्च सीमा तोकेको स्पष्ट पार्दै आयुक्त जबराले चुनाव लड्ने, खर्च गर्ने तर आयोगमा खर्च विवरण नबुझाउनेहरुमाथि आयोगले कारबाही गरेको बताए। 

कार्यक्रममा धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले मुलुक निर्वाचनमय भएका बेला सबैले भयरहित वातावरणमा स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउने वातावरण बनाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए। 

कार्यक्रममा निर्वाचन आचारसंहिता र त्यसको कार्यान्वयनको अनुगमन विषयक प्रस्तुति गर्दै पूर्वसचिव वेगेन्द्रराज शर्मा पौडेलले निर्वाचन आचारसंहितालाई सबैले ख्याल गर्नुपर्ने बताए। 

निर्वाचन आयोग नेपालका सहसचिव यज्ञप्रसाद भट्टराईले आयोगले तोकेको खर्च सीमामै रहेर उम्मेदवारहरुले खर्च गर्नुपर्ने बताएका छन्। निर्वाचन खर्च र प्रचारप्रसार शीर्षकमा सहजीकरण गर्नुहुँदै सहसचिव भट्टराईले निर्वाचन आचारसंहिता विपरीतको कार्य भएको उजुरी आएमा तत्काल अनुसन्धान गरी कारबाही गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: १६:२९ बजे, शनिबार, कात्तिक १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्