कालिकोटमा ०७४ का सहयात्री आमनेसामने, पूर्वमुख्यमन्त्री शाहीलाई कति सहज ?
स्थानीय निर्वाचनमा कालीकोटका ८२ वडामध्ये माओवादी केन्द्रले मात्रै ४९ वडा जितेको थियो ।
काठमाडौं, कात्तिक १८ : एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कालीकोटमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन दल र नेकपा (एमाले)का उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
गठबन्धन दलबाट नेकपा (माओवादी केन्द्र)का महेन्द्रबहादुर शाही र एमालेबाट नगेन्द्र शाही (नेशनल) उम्मेदवार छन्। कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र तेस्रो पटक विजयी भएर ह्याट्रिक गर्ने दाउमा छन् भने नगेन्द्र पहिलो पटक प्रतिनिधिसभामा प्रवेश गर्र्ने मौकाको पर्खाइमा छन्।
माओवादी केन्द्रका उम्मेदवार रहेका महेन्द्रबहादुर २०७० सालमा प्रतिनिधिसभा, २०७४ सालको प्रदेशसभामा निर्वाचित भएका थिए। विसं २०७० को निर्वाचनमा उनले एमालेका कुर्मराज शाहीलाई पराजित गरेका थिए । त्यतिबेला उनी जलस्रोत सिँचाइ तथा ऊर्जामन्त्री बनेका थिए।
विसं २०७४ का प्रदेशसभाको निर्वाचनमा विजयी भएका महेन्द्रले नेपाली कांग्रेसका कालीबहादुर सहकारीलाई पराजित गरेर कर्णालीका मुख्यमन्त्री बनेका थिए।
नगेन्द्र शाही विसं २०७४ को निर्वाचनमा वाम–गठबन्धन हुँदा महेन्द्रको चुनावी सहयात्री थिए । यसपालि कालिकोटमा ०७४ का सहयात्री नै आमनेसामने भएका छन्। दुई सहयात्रीबीच अर्का मित्र काशीचन्द्र बरालले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
कांग्रेस बिपीबाट कालीकोट कांग्रेसका संस्थापक सभापति पत्त बहादुर विष्ट, नेमकिपाबाट जिल्ला अध्यक्ष खड्कराज शाही, राप्रपाका धनबहादुर बुढा र स्वतन्त्ररुपमा कांग्रेसका पुराना नेता धनप्रसाद पाण्डेले चुनौती मैदानमा उत्रिएका छन्।
जिल्लामा नौ स्थानीय तह र ८२ वडा छन् । ती वडामध्ये माओवादी केन्द्रले मात्रै ४९ वडा जितेकाे छ ।स्थानीय निर्वाचनमा माओवादीले १९ हजार मत, कांग्रेस १४ हजार र एमालेले १३ हजार पाएको थियो । जिल्लाको विकास निर्माणमा लामो समयदेखि काम गरेको अहिले केही अधुरा योजना बाँकी रहेकाले त्यो पूरा गर्नका लागि आफूले उम्मेदवारी दिएको माओवादी केन्द्रका उम्मेदवार महेन्द्रबहादुरले बताए।
‘मैले लामो समयदेखि कालीकोटको प्रतिनिधिका रुपमा काम गरेको छु । मेलै कालीकोटका विकास लागि गरेका कैयौँ काम अधुरा रहेका छन्,’ उनले भने, ‘ती काम पूरा गर्नका लागि मेरो उम्मेदवारी रहेको छ। मलाई त्यसै आधारमा अनुमोदन गर्नेमा विश्वास लिएको छु।’
कालीको सुनथराली विमानस्थल नियमित उडान, कर्णाली करिडोरको स्तरोन्नति, मान्म–कोटवाडा केवुलकार, फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणलगायतका अन्य सरोकारका विषय आफ्नो चुनावी एजेण्डा रहेको महेन्द्रबहादुरले बताए ।
विगत लामो सयमदेखि एउटै व्यक्तिले विकास गर्न नसक्ने त्यसका लागि युवाको काँधमा जिम्मेवारी दिनुपर्ने र अहिले आफूले नागरिकको न्यूनतम आधारभूत आवश्यकता पूर्ति गर्ने रोजगारी प्रमुख चुनावी एजेण्डा भएको एमालेका प्रतिनिधिसभाका उम्मेदवार नगेन्द्रको भनाइ छ ।
‘अहिले ठूलाठूला नाराले मात्र कुनै पनि काम गर्न सकिन्न । मेरो चुनावी एजेण्डा भनेका घरमाघरमा खानेपानी धारा, सडक, विद्युत, सञ्चार र रोजगारी रहेका छन्,’ उनले भने,‘ठूलाठूला चुनावी नाराले केही पनि गर्न सकिन्न । पहिलो विषय नागरिकको आधारभूत आवश्यकता पूरा गर्नु हो।’











