गुटबन्दीको अन्त्य नभएसम्म कांग्रेस बलियो हुँदैन: डा. महत
बलेवा, मंसिर ३० : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले काँग्रेसभित्र रहेका गुटहरुको अन्त्य आवश्यक रहेको बताएका छन्।
कांग्र....

बलेवा, मंसिर ३० : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले काँग्रेसभित्र रहेका गुटहरुको अन्त्य आवश्यक रहेको बताएका छन्।
कांग्रेसले बागलुङले सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने,‘गुटबन्दीले पार्टीलाई खतरामा पार्ने हुँदा यसको अन्त्य गरी एक भएर चल्नुको विकल्प छैन।’ नेता महतले पार्टीका शीर्ष नेताहरु नै गुटबन्दीमा लाग्दा तल्लो तहसम्म असर देखा परेको उल्लेख गर्दै पछिल्लो समयमा पार्टीभित्र गुटउपगुटको खेती झनै मौलाउँदै गएकोमा चिन्ता व्यक्त गरे।
गुटको अन्त्यका लागि तल्लो तहबाट दबाब सिर्जना गर्नुपर्ने उल्लेख गर्दै डा. महतले शीर्ष नेताहरुका कारण पछिल्लो पुस्तासम्म गुटको प्रभाव परेको हुँदा यसको अन्त्य गरी एक भएर अगाडि बढनुपर्नेमा जोड दिए। नेता महतले नेतृत्वबीच छलफल भएको १४ औँ महाधिवेशनको मुद्दालाई सहमतिका साथ निर्णय गरेर सभापति अगाडि बढ्नुपर्नेमा जोड दिए।
‘सहमति गरेर समयावधि बढाऔँ’, उनले भने,‘नेतृत्वले सबैको कुरा सुन्नुपर्दछ, हामी विपक्षसँग लड्ने हो, आफू–आफू त सहमति बनाएर अगाडि बढ्ने हो।’ नेता महतले समयावधि सकिएका भातृ एवं शुभेच्छुक संस्थाको यथाशीघ्र छिटो अधिवेशनको बाटोमा जानुपर्ने बताउँदै काँग्रेसले ल्याएको बलियो अर्थनीतिका कारण राज्य बलियो भएको दाबी गरे। रासस











