दार्चुलाबाट ओलीले भने– एक इन्च पनि जमिन मिच्न दिइन्नँ, गुमेको भूभाग फिर्ता ल्याउँछौं
राष्ट्रियताको प्रश्नमा नेपालले आफ्नो एक इन्च पनि जमिन कसैलाई मिच्न दिनेवाला छैन, मिचिएको जमिन पनि फिर्ता ल्याउँछ : ओली
काठमाडौं, कात्तिक १८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिने ज्ञारेन्टी गरेका छन् । शुक्रबार दार्चुलाको खलंगामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको जमिन मिचिन नदिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूभाग पनि नेपालले फिर्ता ल्याउने ज्ञारेन्टी दिएका छन् । ‘दार्चुलाको खलंगामा उभिएर म दुईवटा कुरा ग्यारेन्टी गर्न चाहन्छु– पछाडि परेको क्षेत्रलाई हामी विकासको मूलधारमा ल्याउँछौं । राष्ट्रियताको प्रश्नमा नेपालले आफ्नो एक इन्च पनि जमिन कसैलाई मिच्न दिनेवाला छैन, मिचिएको जमिन पनि फिर्ता ल्याउँछ,’ ओलीले भने ।
उनले दार्चुलामा विकास निर्माणको काम एमालेले नै थालनी गरेको बाँकी काम पनि एमालेले नै गर्ने बताए । ‘दार्चुलामा बाटो एमालेले नै ल्याएको हो, सिमासम्म पुयाउनुपर्नेछ तर चट्टान भएकाले केही वर्ष लाग्नसक्छ,’ उनले भने ‘अब महाकाली नदीको तटबन्धनले दार्चुला बजार भत्काउन पाउने छैन । त्यसको ग्यारेन्टी एमालेले गर्छ, म गर्छु।’
ओलीले दार्चुलाबाट चुनाव जितेर मन्त्री बनेका दिलेन्द्र प्रसाद बडुले मन्त्री भएपछि जिल्लाको विकासमा केही काम नगरेको आरोप समेत लगाए । ‘दिलेन्द्र बडूजीले यो सभा देखेपछि काठमाडौं नै बसे हुन्छ । यता नहेरे पनि हुन्छ,’ उनले भने ।











