निहारिका राजपुतका छोरा र शिवराज श्रेष्ठको डिएनए मिल्यो
बलात्कारको आरोपमा सजायको माग गर्दै आएकी निहारिकाको मागअनुसार गरिएको परीक्षणमा उनको छोरा र श्रेष्ठको डीएनए मिलेको उच्च अदालत जनकपुरले जनाएको छ।
काठमाडौं, कात्तिक १८ : ‘कुमारी आमा’मा चिनिएकी महोत्तरीकी निहारिका राजपुतका छोरा र बलात्कार आरोपित धनुषाका शिवराज श्रेष्ठबीच डीएनए मिलेको छ।
बलात्कारको आरोपमा सजायको माग गर्दै आएकी निहारिकाको मागअनुसार गरिएको परीक्षणमा उनको छोरा र श्रेष्ठको डीएनए मिलेको उच्च अदालत जनकपुरले जनाएको छ।
ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले शुक्रबार उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९.९९९ प्रतिशत मिलेको रिपोर्ट आएको जनाइएको छ।
उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए परीक्षण गर्न गत ८ भदौमा आदेश दिएको थियो। डीएनए परीक्षणको रिपोर्ट उच्च अदालतमा पेस भएको जनाइएको छ।
शिवराजले नसालु पदार्थ खुवाएर बलात्कार गरेपछि गर्भ बसेको भन्दै निहारीकाले जाहेरी दिएकी थिइन्। शिवराजले भने निहारिकाबाट जन्मेको बच्चा आफ्नो नरहेको दाबी गर्दै आएका थिए।











