Kathmandu Press

उपराष्ट्रपतिलाई निर्वाचन तयारीबारे आयोगको जानकारी

उनले आगामी निर्वाचनलाई हालसम्मकै कम विवादित तथा बढी निष्पक्ष र स्वतन्त्र बनाउने चुनौती निर्वाचन आयोगसँग भएको बताएका छन्।
उपराष्ट्रपतिलाई निर्वाचन तयारीबारे आयोगको जानकारी

काठमाडौं, कात्तिक १८ : उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्ररुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।

उनले आगामी निर्वाचनलाई हालसम्मकै कम विवादित तथा बढी निष्पक्ष र स्वतन्त्र बनाउने चुनौती निर्वाचन आयोगसँग भएको बताएका छन्।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तयारीबारे जानकारी गराउन आज अपराह्न उपराष्ट्रपति भवन हरितगृह पुगेका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र निर्वाचन आयोगका अन्य पदाधिकारीसँग कुरा गर्दै उपराष्ट्रपतिले निर्वाचनमा अधिकतम मतदाता सहभागी हुन सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। उनले आयोगले गरिरहेको निर्वाचनको तयारीबारेमा खुसी व्यक्त गरे।

'स्थानीय तहको निर्वाचन सम्पन्न गरेकामा म निर्वाचन आयोगलाई बधाई तथा धन्यवाद दिन चाहन्छु,' उनले भने, 'प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आयोगले जुन तयारी गरिरहेको छ, यसबाट म निकै खुसी भएको छु। निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न हुनेमा म विश्वस्त छु।'

उपराष्ट्रपतिसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धतासहित आयोगले तयारीका कामलाई तीव्र बनाएको बताए। 

आयुक्त थपलियाले मतपत्र छपाइको काम सम्पन्न भएको जानकारी गराउँदै उपत्यका बाहिरका जिल्लामा ढुवानीसमेत भइसकेको जानकारी गराए। उनले मतदान सम्पन्न भएपछि आयोगले छिटोभन्दा छिटो मतगणना गरेर परिणाम घोषणा गर्ने बताए।

प्रकाशित मिति: १५:२३ बजे, शुक्रबार, कात्तिक १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्