टुँडिखेलको अस्तित्व जोगाउने जिम्मेवारी सरकारकै हो : कमल थापा
काठमाडौं, मंसिर ३० : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले केपी शर्मा ओली शक्तिशाली प्रधानमन्त्री भएकाले टुडिखेलको संरक्षण....

काठमाडौं, मंसिर ३० : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले केपी शर्मा ओली शक्तिशाली प्रधानमन्त्री भएकाले टुडिखेलको संरक्षण र निर्माणमा सहमत भए मन्त्रिपरिषद्बाट निर्णय गराएर टुँडिखेलको अस्तित्व जोगाउनु पर्नेमा जोड दिएका छन्।
सोमबार अकुपाई टुँडिखेल अभियानका अभियन्ताहरुको एक प्रतितिनिधिमण्डलसँग पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको भेटमा अध्यक्ष थापाले टुँडिखेलका विषयमा सरकार र महानगरले ठोस र प्रभावकारी निर्णय अविलम्ब गर्नु पर्ने बताएका हुन्। टुँडिखेललाई हरियो चौरको रुपमा मात्र नभई साँस्कृतिक सम्पदाको रुपमा विकास गर्नु पर्ने भन्दै थापाले रंगशालादेखि रानिपोखरीसम्म एउटै क्षेत्र कायम गरी संरक्षण गर्नु पर्ने आवश्यकता औँल्याए।
काठमाडौं शहरको स्वच्छता कायम राख्न आपतकालीन विपदका समयमा प्रयोग गर्न तथा देशकै गौरव बढाउने राष्ट्रिय कार्यक्रमहरु गर्न टुँडिखेल उपयोगी हुने उनले बताए। अध्यक्ष थापाले विगतमा ज–जसको जे–जस्तो कमिकमजोरी भएको भएतापनि त्यसलाई विर्सेर टुँडिखेल जोगाउँदै संरक्षणको निमित्त सवै एकजुट हुनुपर्ने बताए। टुँडिखेल इतिहाससँग गाँसिएको विषय भएको भन्दै थापाले टुँडिखेल खुम्चिँदै अस्तित्व लोपको अवस्थामा पुगेकोमा चिन्ता प्रकट गरे।
“म आफै पनि नीति निर्माणको तहमा काम गरेको छु त्यस बखत यस विषयमा ठोस र प्रभावकारी काम गर्न नसकेकोमा÷ नभएकोमा एक प्रकारको गिल्टी फिल हुन्छ” थापाले भने। ‘म टुँडिखेल चौरमा खेलेर, बढेर, हुर्केको व्यक्ति हुँ। राष्ट्रिय फुटवल टिमको क्याप्टेन पनि भए तर फुटबलको प्रारम्भिक ज्ञान त्यहीँ टुँडिखेलमा लिएको हुँ,’उनले भने।











