काठमाडौं-१ मा कांग्रेसका सिंह र एमालेका पौडेलबीच नै मुख्य प्रतिस्पर्धा
स्थानीय तहको मतपरिणामलाई हेर्दा आगामी मङ्सिरमा हुने सङ्घीय चुनावमा काठमाडौँ क्षेत्र नं १ मा सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रकाशमान सिंह र नेकपा एमालेका किरण पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
काठमाडाैं, कात्तिक १८ : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चहलपहल देशभर बढिरहेको छ। १० सङ्घीय निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा पनि उम्मेदवारहरु आफ्नो प्रचारप्रसारमा जुटिरहेका छन्।
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरका ३२ वडामध्ये नेपाली कांग्रेस १९, नेकपा (एमाले) १२ र नेकपा एकीकृत समाजवादी एउटा वडामा विजयी भएका थिए।
स्थानीय तहको मतपरिणामलाई हेर्दा आगामी मङ्सिरमा हुने सङ्घीय चुनावमा काठमाडौँ क्षेत्र नं १ मा सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रकाशमान सिंह र नेकपा एमालेका किरण पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
उक्त चुनावमा काठमाडौँ क्षेत्र नं १ मा महानगरको चार वटा वडा १०, ११, २९ र ३१ समेटिएकामा कांग्रेसले १०, ११, २९ र एमालेले ३१ वडामा जित हासिल गरेको थियो।उक्त क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम र नेपाल सुशासन पार्टीबाट रमेशप्रसाद खरेल पनि उम्मेदवार हुनुहुन्छ।
२०७४ को निर्वाचनमा सो क्षेत्रमा अहिलेका उम्मेदवारद्वय प्रकाशमान सिंह र रवीन्द्र मिश्रबीच भिडन्त भएको थियो। त्यतिबेला मिश्र विवेकशील साझा पार्टीबाट चुनावी मैदानमा थिए। गत स्थानीय तहको निर्वाचनमा चार वडामा कांग्रेसका वडाध्यक्षहरुले कूल ९ हजार ८ सय ९५ मत प्राप्त गरेका थिए भने एमालेका वडाध्यक्षले ९ हजार ५ सय ४१ मत पाएको देखिन्छ। वडाध्यक्षले पाएको मतका आधारमा पनि कांग्रेस छ सय ५४ मतले अगाडि छ। राप्रपाका वडाध्यक्षका उम्मेदवारले कुनै पनि वडामा नजिते पनि एक हजार तीन सय ७६ मत प्राप्त गरेका थिए।
पुरानै मतपरिणामलाई आधार मान्दा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ। सो क्षेत्रमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सिंहलाई माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन रहेको छ।
विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा हालका राप्रपाका उम्मेदवार मिश्रलाई ८ सय १८ मतान्तरले पराजित गर्दै विजयी हुनुभएका सिंहले १० हजार ९ सय ३६ मत प्राप्त गरेका थिए।
गत निर्वाचनको नतिजा उल्टाउने दाउमा मिश्र चुनावी मैदानमा उत्रिनुभएको छ भने नेता सिंह यसपाली पनि आफ्नो जितलाई कायमै राख्ने कसरतमा हुनुहुन्छ। एमाले एक्लै सो क्षेत्रमा रहेकाले सत्तागठबन्धनको साथले सहजै जित हुने कांग्रेसको जिकिर छ। गत स्थानीय तहको चुनावको मतपरिणाम हेर्दा महानगरको क्षेत्र नं १ मा रोचक भिडन्त हुने देखिन्छ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रतर्फ काठमाडौँ क्षेत्र नं १ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्रबाट कूल ४५ हजार १८ मतदाताले मत दिनेछन्। तीमध्ये २३ हजार चार सय ४८ महिला र २१ हजार पाँच सय ७० पुरुष छन्।











