गोरखाबाट प्रचण्डले भने– सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्री बन्नुहुन्छ
विस्तृत शान्ति सम्झौता भएको दिन नै गिरिजाबाबुले हसियाँ हथौडा र मैले रुख चिह्नमा छाप लगाएँ : प्रचण्ड
काठमाडौं, कात्तिक १८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा–२ बाट प्रदेश ‘ख’मा गठबन्धनका उम्मेदवार सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने पूर्ण सम्भावना रहेको बताएका छन् ।
शुक्रबार गोरखामा आयोजित चुनावी प्रचारप्रसारलाई सम्बोधन गर्दै प्रचण्डले प्रदेश सभातर्फका उम्मेदवार पाण्डे सामान्य प्रदेश सभा सदस्य मात्र नभई गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने पूरा सम्भावना रहेको बताएका हुन् ।
प्रदेशसभातर्फ अर्का उम्मेदवार फणिन्द्र देवकोटा पनि प्रदेशमा मन्त्री बन्ने सम्भावना रहेको प्रचण्डले बताए । ‘ सुरेन्द्रजी यहाँबाट जितेपछि मुख्यमन्त्री बन्ने पूरै सम्भावना छ । फणिन्द्र देवकोटा युवा नेताका रुपमा प्रदेशको मन्त्री हुने पनि त्यतिकै सम्भावना छ,’ प्रचण्डले भने।
प्रचण्डले आफू पनि प्रधानमन्त्री बन्ने सम्भावना रहेको संकेत गरे । ‘सुरेन्द्रजीहरुले भन्ने गर्नुभएको छ, यो निर्वाचनपछि देशको नेतृत्व लिने सम्भावना छ,’ उनले भने, ‘बलियो बनाएर पठाउनुभयो भने हाम्रो तागत सिंहदरबारभित्र भएपनि, प्रदेश सरकारभित्र भएपनि धेरै बलियो हुन्छ र गोरखाको विकास निर्माण र समृद्धिको यात्रा तीब्र गतिमा अगाडि बढ्छ ।’ त्यसका लागि सबैले दृढता र विना कुनै हिचकिचाहटका साथ गठबन्धनका उम्मेदवारलाई मतदान गर्नु जरुरी रहेको प्रचण्डले बताए।
उनले गोरखाको चुनावी परिणाम देशले देख्नेगरी भोट हाल्न पनि आह्वान गरे । ‘गोरखामा यस्तो रेकर्ड बन्यो, सम्पूर्ण जनता एकढिक्का भए । गठबन्धन एकढिक्का भएर देशमा अन्यत्रभन्दा गोरखामा अत्यधिक मतका साथ हाम्रा सबै उम्मेदवारहरु विजयी भए भन्ने रेकर्ड बनाउन जरुरी छ,’ प्रचण्डले भने ।
प्रचण्डले कांग्रेसले हसियाँ हथौडा र माओवादीले रुख चिह्नमा छाप हान्न अप्ठ्यारो मान्न नहुने पनि बताए । विस्तृत शान्ति सम्झौता भएको दिन नै गिरिजाप्रसाद कोइरालाले हसियाँ हथौडा र आफूले रुख चिह्नमा छाप हानेको प्रचण्डको भनाई थियो ।
‘यदी तपाईँहरुलाई प्रचण्डको नेतृत्व, माओवादी केन्द्र, शान्ति सम्झौता र संघीय लोकतान्त्रिक गणतन्त्रमा आउनु ऐतिहासिक कर्म हो भन्ने लाग्छ भने रुखमा छाप हान्दा अप्ठ्यारो मान्नुपर्ने कुनै कुरा छैन । किनकी सबैभन्दा पहिले रुखमा छाप मैले लगाएको हो,’ कार्यकर्ताहरुलाई प्रचण्डले भने।











