Kathmandu Press

प्रधानमन्त्री ओलीले भने- सिन्धुपाल्चोकको दुर्घटनाको खबरपछि खाना खान र सुत्न सकिनँ

काठमाडौं, मंसिर ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरुलाई बोलाई सडक दुर्घटना न्यून....

प्रधानमन्त्री ओलीले भने- सिन्धुपाल्चोकको दुर्घटनाको खबरपछि खाना खान र सुत्न सकिनँ

काठमाडौं, मंसिर ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरुलाई बोलाई सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका छन्।

पछिल्लो समय सडक दुर्घटनाका खबर आउन थालेपछि त्यसको न्यूनीकरणका उपाय खोज्न प्रधानमन्त्री ओलीले सडक पूर्वाधार तथा गृह मन्त्रालयका पदाधिकारीहरुलाई सोमबार बोलाएका थिए।

गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमूख, ट्रफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशक लगायतको समूहलाई प्रधानमन्त्री ओलीले संयुक्त रुपमा निर्देशन दिएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा भावुक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले पछिल्लो पटक सडक दुर्घटनामा भएका मानवीय क्षतिले आफूलाई निद्रा नपरेको भन्दै यसलाई तत्काल घटाउने गरी पूर्वाधार तथा सडक नियम पालना गराउन निर्देशन दिए। 

‘सिन्धुपाल्चोकको सडक दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिस भएको खबर पढेँ, बिरामी अवस्थामा रहेर हो कि, म निकै भावुक भएँ। हिजो खाना खान र सुत्न पनि सकिनँ’ प्रधानमन्त्री ओलीले भने,‘ यस्ता दूर्घटनाले ठूलो संख्यामा सक्षम जनशक्तिको क्षति भएको छ। त्यसले कति बृद्धबृद्धा र बालबालिकालाई बेसहारा बनाएको छ ? यसलाई तत्काल रोक्ने कार्ययोजना बनाउनु पर्‍यो।’ 

प्रधानमन्त्री ओलीले निजी सवारी साधनको तुलनामा सार्वजनिक यातायात दुर्घटना हुँदा ठूलो जनधनको क्षति हुने औंल्याउँदै सार्वजनिक यातायातका चालकहरुलाई तालिम, लाइसेन्सको पुर्नपरीक्षण, सडक पूर्वाधार प्रयोगको अनूमतिमा गम्भीर परीक्षण गर्न निर्देशन दिए। 

‘सिट भन्दा बढी यात्रु राख्न नदिने, छतमा यात्रु राख्न नदिने, निर्माण पूरा नभएका वा यातायात सञ्चालनका लागि योग्य नभएका सडकमा सञ्चालन अनुमति नदिने, चालकको क्षमता परीक्षण गर्नेजस्ता काम तत्काल गरिहाल्नुस्’ प्रधानमन्त्री ओलीले भने, ‘सडक पूर्वाधारको स्वीकृति गर्दा डबललेन घटीको संरचना स्वीकृत नगर्नुस्। बस चालकको कक्षमा ध्यान अन्तै मोड्ने खालका मानिस तथा समग्री छन् भने हटाउने स्पष्ट नियम बनाउनुस्।’ 
 

प्रकाशित मिति: १७:२६ बजे, सोमबार, मंसिर ३०, २०७६