Kathmandu Press

साफ च्याम्पियनसीप : नेपालले भूटानलाई हरायो

साफ च्याम्पियनसीप : नेपालले भूटानलाई हरायो

काठमाडाैं, कात्तिक १७ : पन्ध्र वर्षमुनि (यु–१५) महिला साफ च्याम्पियनसीप फुटबलमा नेपालले भूटानलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
 
बङ्गलादेशको ढाकामा आज भएको खेलमा भूटानलाई ७–० गोलअन्तरले पराजित गर्दै नेपालले विजयी सुरुआत गरेको हो । नेपालले खेलको पहिलो हाफमा चार गोल गर्‍यो भने खेलको दोस्रो हाफमा तीन गोल थप्यो।

नेपालको जितमा वर्षा ओलीले चार गोल गरिन् भने सुक्रिया मियाँले दुई तथा सेनु परियारले एक गोल गरिन् । वर्षाले खेल सुरुआती मिनेटमा पहिलो गोल गर्दै नेपालको खाता खोलिन् । त्यस्तै उनले खेलको १७औँ मिनेटमा दोस्रो गोल गरिन् भने खेलको ३४औँ मिनेटमा ह्याट्रिक पूरा गरिन् । त्यसैगरी उनले खेलको ३५औँ मिनेटमा थप एक गोल गरिन् ।

नेपालकी अर्की खेलाडी सुक्रियाले खेलको ६५औँ मिनेटमा गोल गरिन् भने उनले खेलको ७२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । त्यसैगरी नेपालकी अर्की खेलाडी सेनु परियारले खेलको ८५औँ मिनेटमा एक गोल गर्दै नेपाललाई ७–० गोलको जित दिलाइन् ।

यसअघि भएको उद्घाटन खेलमा बङ्गलादेशले भूटानलाई ८–० गोलअन्तरले हराएको थियो । प्रतियोगितामा बङ्गलादेशसँगै नेपाल र भूटानको सहभागिता रहेको छ । अब नेपालले आफनो दोस्रो खेल यही कात्तिक १८ गते बङ्गलादेशसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रकाशित मिति: १९:२० बजे, बिहीबार, कात्तिक १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्