सन्दीपविरुद्धको थुनछेक बहस आज पनि ‘हेर्दाहेर्दै’मा

काठमाडौं, कात्तिक १७ : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस बिहीबार पनि नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो। प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका छन्।
कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर सन्दीपविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबार बयान भएको थियो। बुधबारबाट जारी थुनछेक बहसमा बिहीबारसम्म ४ सरकारी वकिल र ११ जना अधिवक्ता गरी १७ जनाले बहस गरिसकेको सन्दीपका अधिवक्ता सुधार रिजालले जानकारी दिए।
बिहीबारको बहसमा वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, लवकुमार मैनाली, कृष्णप्रसाद सापकोटा तथा सबिता बराल भण्डारी तथा अधिवक्ताहरु सुवास पाठक, सुधार रिजाल, प्रविन सुवेदी र अनुराग सुवेदीले बहस सकेको अधिवक्ता रिजालले बताए।
बुधबारको बहसका क्रममा प्रतिवादीतर्फका वकिलले पीडित किशोरीको उमेर १८ वर्ष पुगिसकेको भन्दै प्रमाण पेश गरेको उनले जानकारी दिए।
प्रतिवादीका तर्फबाट बहस सकिएपछि आवश्यक भएमा पुनः सरकारी वकिलका तर्फबाट प्रतिवादीका वकिलले उठाएका विषयको जवाफ दिनेछन्।
त्यसपछि न्यायाधीशले थुनछेक आदेश गर्नेछन्। सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो। सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।











