कोही पनि जमिनबिना बस्नुपर्ने स्थिति आउँदैन: मन्त्री अर्याल
सर्लाही, मंसिर ३० : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब कोही पनि जमिनबिना बस्नुपर्ने स्थिति नआउने बताएकी छिन्।....

सर्लाही, मंसिर ३० : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब कोही पनि जमिनबिना बस्नुपर्ने स्थिति नआउने बताएकी छिन्।
सोमबार बरहथवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले अब चाँडै भूमिसम्बन्धी शक्तिशाली आयोग बनाएर सरकारी ताथा खाली रहेका जग्गाको व्यवस्थापन गर्दै लैजान लागेको बताइन्।
आगामी माघ महिनासम्ममा शक्तिशाली भूमि आयोग बनाउनेगरी काम अघि बढेको उनले बताइन्। ‘सरकारले लामो समय लगाएर भूमिसम्बन्धी कानून बनाइसकेको छ, अब सरकार कार्यान्वयनको पक्षमा रहेकाले केही समय लाग्छ, आयोग बनिसकेपछि भूमिसम्बन्धी कुनै समस्या आउँदैन’, मन्त्री अर्यालले भनिन्।
मन्त्री अर्यालले देशभरका जग्गाको विवरण लिएर त्यो सरकारको नाममा फर्काउने अभियान थालिएको बताइन्। 'यो हाम्रो शुरूवात हो। अब हजारौं विघाको संख्यामा सबै माफियाबाट जग्गा खोस्दैछौँ। जग्गा दोहन गर्ने तत्वलाई निरूत्साहित गर्नेगरी अघि बढेका छौँ। देशभर कति सरकारी, सार्वजनिक र गुठीका जग्गा कति दोहन भएका छन् त्यसको तथ्यहरू लिँदैछौँ', मन्त्री अर्यालले भनिन्।
सरकारले सरकारी/सार्वजनिक जग्गाबारे अध्ययन गर्न शक्तिशाली आयोग बनाएर भर्खरै आयोगले प्रतिवेदन बुझाएको भन्दै उनले प्रतिवेदनमा झण्डै ४३ सय बिघा जमिन अतिक्रमण भएको र त्यो सरकारका नाममा फर्काउन भनिएको बताइन्।
मन्त्री अर्यालले अब सुकुम्बासी/ अव्यवस्थित बसोबासीको समस्या यही सरकारले समाधान गर्ने र सम्पत्तिको मालिक बनाउने मन्त्री अर्यालले बताइन्।











