Kathmandu Press

चुनावी वाचा पूरा नगरे मतदाताबाट कारबाही भोग्न तयार छु : रवि लामिछाने

राष्ट्रपतिमा निर्वाचित हुन कुनै पनि राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाली नागरिक हुनुपर्ने सो पार्टीको एजेन्डा छ।
चुनावी वाचा पूरा नगरे मतदाताबाट कारबाही भोग्न तयार छु : रवि लामिछाने

काठमाडाैं, कात्तिक १७ : काठमाडाैं राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी वाचापत्र सार्वजनिक गरेको छ।

बिहीबार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले एक कार्यक्रमकाबीच निर्वाचनका लागि वाचापत्र सार्वजनिक गरेको हो। सो पार्टीले आफ्नो वाचापत्रमा संघीय सरकार जनताद्वारा प्रत्यक्ष निर्वाचित हुने प्रधानमन्त्रीको प्रस्ताव अघि सारेको छ।

त्यस्तै वडाध्यक्षदेखि संघीय संसद्सम्म सम्मिलित बृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने प्रस्ताव अघि सारेको छ। राष्ट्रपतिमा निर्वाचित हुन कुनै पनि राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाली नागरिक हुनुपर्ने सो पार्टीको एजेन्डा छ।

उपराष्ट्रपति राष्ट्रिय सभाका अध्यक्ष हुने व्यवस्था गर्ने पनि सो पार्टीको एजेन्डामा छ। वाचापत्र सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो पार्टी संसदमा जान तम्तयार भएर बसेको बताए। उनले जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई वाचा पत्रमा समेटेको बताए।

अध्यक्ष लामिछानेले आफू देशदौडाहामा निस्किएको बेला जनताले पिउने पानी, बत्ती, पढ्न र उपचारजस्ता सामान्य कुरा माग गरेको भन्दै यी कुरा जनताका अधिकार भएकाले अहिले नेताहरुले तिनै कुरा दिन्छौं भनेर चुनावमा आश्वासन बाँडेको बताए। उनले छोटो समयमा ६२ जिल्लामा पार्टीलाई विस्तार गर्न सफल भएको दाबी समेत गरे। अध्यक्ष लामिछानेले आफूले चुनावमा गरेका बाचा पूरा नगरे मतदाताले जस्तो कारबाही गरे पनि भोग्न तयार रहेको बताए।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा प्रदेशमा पनि जनताद्वारा निर्वाचित मुख्यमन्त्री रहने व्यवस्था हुनुपर्ने उल्लेख गरिएको छ।  सो पार्टीले वि.सं. २११० सम्ममा नेपालमा गरिबीको रेखामुनि रहेका नेपालीको संख्या शून्य हुने, नेपाल विश्वकै शान्ति क्षेत्रका रूपमा स्थापित हुने र विश्वकै घुम्नलायक पर्यटकीय गन्तव्यका रूपमा रहने पनि वाचापत्रमा उल्लेख छ।

आगामी २११० सम्म कुनै पनि नेपाली रोजगारीका लागि विदेश जान नपर्ने पनि सो पार्टीले वाचा गरेको छ। त्यस्तै नेपाल विश्वमै न्यून भ्रष्टाचार हुने मुलुकमा पर्ने वाचापत्रमा उल्लेख छ। 

प्रकाशित मिति: १५:०८ बजे, बिहीबार, कात्तिक १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्