प्रतिगामी शक्तिलाई परास्त गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा : भट्टराई
बिहीबार गोरखा–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले ६५ वर्ष लडेर ल्याएको व्यवस्था फेरि गुम्यो भने अर्को पुस्तालाई लड्ने समय नहुने भएकालै आगामी निर्वाचनमा गठबन्धनलाई जिताउनुको विकल्प नरहेको स्पष्ट पारे।
काठमाडाैं, कात्तिक १७ : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परास्त गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेको बताएका छन्।
बिहीबार गोरखा–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले ६५ वर्ष लडेर ल्याएको व्यवस्था फेरि गुम्यो भने अर्को पुस्तालाई लड्ने समय नहुने भएकालै आगामी निर्वाचनमा गठबन्धनलाई जिताउनुको विकल्प नरहेको स्पष्ट पारे।
जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि परिवर्तनकारी शक्ति एक ठाउँमा आएको उनको भनाइ थियो। ‘संविधानसभाबाट जारी संविधान, गणतन्त्र र सङ्घीयताको रक्षार्थ हामी एक ठाउँमा आएको छौं,’ उनले भने, ‘आगामी मङ्सिर ४ गते प्रतिगामी प्रवृत्ति पराजित हुन्छ, अग्रगामी शक्ति अगाडि आउँछ ।”
कृषिप्रधान अर्थतन्त्रको विकास गर्दै पूर्वाधार निर्माणमा दलको ध्यान जानुपर्नेमा जोड दिँदै उनले पूर्वाधार निर्माणसँगै रोजगारी अभिवृद्धिका योजनालाई कार्यान्वयन गरिनुपर्नेमा जोड दिए। चुनौतीपूर्ण भौगोलिक बनावट भए पनि गोरखामा विकासको प्रचूर सम्भावना रहेको उनले बताए।