गोरखा आगमन मेरा लागि ठुलो चुनौतीका साथै अवसर पनि : प्रचण्ड
उनले गोरखाली जनताले आफूलाई नेपालको राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तनसहित समृद्ध गर्ने अवसर प्रदान गर्नेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गरे।
काठमाडाैं, कात्तिक १७ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो गोरखा आगमनलाई ठुलो चुनौती र अवसरका रूपमा लिएको बताएका छन्।
बिहीबार गोरखा–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गोरखा जिल्लाको इतिहास, राष्ट्रिय एकता, राजनैतिक परिवर्तन र प्रगतिको सन्दर्भमा गोरखा जिल्लाको ऐतिहासिक भूमिका उजागर पार्नुपर्ने चुनौती रहेकाले आफ्नो गोरखा आगमनलाई ठूलो चुनौती र अवसरको रुपमा लिएको बताएका हुन्।
उनले गोरखाली जनताले आफूलाई नेपालको राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तनसहित समृद्ध गर्ने अवसर प्रदान गर्नेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गरे। अध्यक्ष दाहालले राजनीतिक प्रक्रियाको सफलताको निम्ति आर्थिक विकास अपरिहार्य रहेको बताए। उनले दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा सुरु भएको अनुभूति दिलाउन र आर्थिक क्रान्तिको खाका कोर्न नसके राजनीतिक परिवर्तन दिगो नहुने धारणा राखे।
उनले नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर जान सक्ने वातावरण जनताले गठबन्धनलाई मत दिएर मात्रै सम्भव रहेको दाबी गर्नुभयो। उनले गोरखाको विकासका लागि सबै राजनीतिक दलहरु एकत्रित भएर काम गर्न आवश्यक रहेको बताए।
त्यस्तै उनले आफूले गिरिजाप्रसादलाई राष्ट्रिय अभिभावकका रूपमा सम्मान गरेकाले शान्ति प्रक्रियाका दुई हस्ताक्षरकर्तामध्ये एक गिरिजा नभएको अवस्थामा कांग्रेसले आफ्नो महत्व बुझ्नुपर्ने तर्क गरे।











