रोचक बन्दै नवलपुर-२ को निर्वाचन
दुई संघीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा उम्मेदवार प्रचारप्रसारमा जुटिरहेका छन्। नवलपरासी पूर्वमा पाँचदलीय गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा हुने प्रस्ट देखिएको छ।
मध्यबिन्दु, (नवलपरासी पूर्व), कात्तिक १७ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी नवलपरासी पूर्वमा पनि बढ्न थालेको छ।
दुई संघीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा उम्मेदवार प्रचारप्रसारमा जुटिरहेका छन्। नवलपरासी पूर्वमा पाँचदलीय गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा हुने प्रस्ट देखिएको छ।
जिल्लाको क्षेत्र नं २ को सङ्घीय निर्वाचन चुनावमा २०७४ सालकै निर्वाचनका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुँदैछ। क्षेत्र नं २ मा गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की र नेकपा एमालेबाट तिलक महत उम्मेदवार रहेका छन्। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार विष्णुकुमार कार्कीलाई एक हजार तीन सय ३३ मतान्तरले पराजित गर्दै तत्कालीन वाम गठबन्धनतर्फबाट उम्मेदवार भएका तिलक महत विजयी भएका छन्।
यसपालिको निर्वाचनमा गठबन्धनको समीकरण फेरिएको छ। गत निर्वाचनको परिणाम उल्ट्याउने दाउमा विष्णुकुमार कार्की चुनावी दौडमा हुनुहुन्छ भने लगातार दोस्रो जीत निकाल्ने कसरतमा तिलक महत छन्।
एमाले एक्लोरुपमा जिल्लामा चुनावी दौडमा रहेकाले पनि पाँचदलीय गठबन्धनको साथले सहज जीत निकाल्ने कांग्रेसको आँकलन छ। अन्य जिल्लामा राप्रपासँग तालमेल गरेको एमाले नवलपरासी पूर्वमा एक्लै निर्वाचनमा उत्रिएको छ। गत स्थाानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा जिल्लाको क्षेत्र नं २ मा रोचक प्रतिस्पर्धा हुने देखिन्छ।
नवलपरासीपूर्वको निर्वाचन क्षेत्र नं २ मा कूल ४० वटा वडा छन्। स्थानीय तहको निर्वाचनमा ४० मध्ये एमालेले २२ वटा वडा जितेको थियो। कांग्रेस १६ वटा वडामा विजयी हुँदा राप्रपा र माओवादीले एकएक वडा जितेका छन्।
यस्तै यस निर्वाचन क्षेत्रमा पर्ने पाँच स्थानीय तहमध्ये एमालेले चार वटा पालिका जितेको छ भने कांग्रेसले एउटा मात्र पालिका जितेको छ। गत स्थानीय निर्वाचनमा ४० वटा वडामा नेकपा एमालेका वडाध्यक्षले ४२ हजार पाँच सय मत प्राप्त गरेका थिए।
कांग्रेसका वडाध्यक्षले ३८ हजार पाँच सय ८७ मत पाएको देखिन्छ। माओवादीका वडाध्यक्षले एक हजार सात सय ४२ मत पाएका थिए भने एकीकृत समाजवादीका वडाध्यक्षले एक सय ६२ मत पाएका थिए। अहिले पाँचदलीय गठबन्धमा रहेका दलका वडाध्यक्षले पाएको कूल मत ४० हजार चार सय ९१ रहेको छ भने एमालेका वडाध्यक्षले ४२ हजार पाँच सय मत पाएको देखिन्छ।
स्थानीय तहको निर्वाचनमा प्रमुखले प्राप्त गरेको मतका आधारमा एमालेका पाँच पालिका प्रमुखले कुल ४१ हजार ७ सय १९ मत प्राप्त गरेका छन् भने कांग्रेस र एकीकृत समाजवादीले ४१ हजार ५ सय ४४ मत प्राप्त गरेका छन्।
प्रतिनिधिसभा निर्वाचनतर्फ नवलपुर क्षेत्र नं २ मा ५६ मतदानस्थल र एक सय ४९ मतदान केन्द्रबाट एक लाख २९ हजार दुई सय ८० जनाले मतदान गर्न पाउनेछन्। यहाँ पुरुष मतदाता ६१ हजार सात सय ४०, महिला मतदाता ६७ हजार पाँच सय ३७ र अन्य मतदाता तीन जना छन्।











