Kathmandu Press

बैतडीमा भण्डारी र कुँवरको प्रतिस्पर्धा 

२०७० र २०७४ मा गरेर दुई पटक विजय हासिल गरिसक्नुभएका भण्डारी ह्याट्रिक गर्ने दाउमा हुनुहुन्छ। विसं २०६४ मा कुँवरले भण्डारीलाई पराजित गर्दै विजय हासिल गरेको भए पनि २०७० सालमा बेहोरेको हारको बदला लिने दाउमा कुँवर रहेका छन्।
बैतडीमा भण्डारी र कुँवरको प्रतिस्पर्धा 

बैतडी, कात्तिक १७ : आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै यहाँका उम्मेदवारले प्रचारप्रचारलाई तीव्रता दिएका छन्। यसले गर्दा चुनावी सरगर्मी पनि बढेको छ। निर्वाचन नजिकिँदै गर्दा विभिन्न आकलन पनि भइरहेका छन्। 

प्रतिनिधिसभाका लागि एक मात्र क्षेत्र रहेको बैतडीमा सत्ता गठबन्धन दल र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। गठबन्धन दलबाट नेकपा (माओवादी केन्द्र) पोलिटब्युरो सदस्य नरेन्द्रबहादुर कुँवरलाई साझा उम्मेदवार बनाइएको छ। यस्तै एमालेबाट उक्त पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारी चुनावी मैदानमा छन्।  

यी दुवैबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ। कुँवर २०७४ सालको निर्वाचनमा भने वाम गठबन्धन भएपछि भण्डारीका सारथिका रूपमा रहेका थिए। २०६४ र २०७० मा भने एक अर्काविरुद्ध उम्मेदवार बनेको थियो। अहिले पनि दुवै जना एकापसमा भिडिरहेकाले रोचक प्रतिस्पर्धा हुने देखिएको छ। 

२०७० र २०७४ मा गरेर दुई पटक विजय हासिल गरिसक्नुभएका भण्डारी ह्याट्रिक गर्ने दाउमा हुनुहुन्छ। विसं २०६४ मा कुँवरले भण्डारीलाई पराजित गर्दै विजय हासिल गरेको भए पनि २०७० सालमा बेहोरेको हारको बदला लिने दाउमा कुँवर रहेका छन्। गठबन्धन दलको पनि साथ रहेकाले कुँवरले सहजै जित निकाल्न सक्ने आकलन गरिएको छ।  

पूर्वअर्थ राज्यमन्त्रीसमेत भइसकेका भण्डारी भने यो पटकको चुनावलाई आफ्नो पक्षमा पर्दै ह्याट्रिक गर्ने रणनीतिमा हुनुहुन्छ। एमाले सङ्गठनका हिसाबले माओवादी केन्द्रभन्दा बलियो भएकाले भण्डारी चुनाव जित्नेमा ढुक्क छन्। माओवादी केन्द्र सङ्गठनमा कमजोर देखिए पनि सत्ता गठबन्धनको साथ रहेकाले निर्वाचनको मत परिणाम आफ्नो पक्षमा आउने भन्दै कुँवर पनि ढुक्क छन्।

२०७४ सालमा वाम गठबन्धनका साझा उम्मेदवार बनेका भण्डारी नेपाली कांग्रेसका नरबहादुर चन्दलाई पराजित गर्दै प्रतिनिधिसभामा विजयी हुनुभएको हो भने २०७० को निर्वाचनमा दुई क्षेत्र रहेका बेला भण्डारीले कांग्रेसका लोकराज अवस्थीलाई हराएका थिए। 

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा बैतडीमा गठबन्धन दलको मत ५१ हजार आठ सय २१ रहेको छ। एमालेको भने ३५ हजार ४८ मात्रै रहेको छ। यो मत सङ्ख्यालाई आधार मान्ने हो भने कुँवरले सहजै रुपमा जित हात पार्ने देखिए पनि गठबन्धन दलको असन्तुष्टिको फाइदा उठाउँदै आफूले बाजी मार्ने भण्डारीको रणनीति देखिएको छ।

स्थानीय निर्वाचनमा यहाँ एमालेको ३५ हजार ४८, कांग्रेसको ३३ हजार छ सय ८३, माओवादीको १४ हजार नौ सय ९८, नेकपा ९एकीकृत समाजवादी०को तीन हजार एक सय ४० र राप्रपाको दुई हजार चार मत छ। 

यो मतसङ्ख्या हेर्दा कांग्रेसले गठबन्धनका तर्फबाट उम्मेदवार पाउने अनुमान गरिएको भए पनि माओवादी केन्द्रको उम्मेदवार भएकाले असन्तुष्टि रहेको देखिएको छ। गठबन्धनभित्रको असन्तुष्टि र १० वर्षसम्म गरेको काम नै आफ्नो जित्ने आधार रहेको भण्डारीले बताए। उनले भने, 'हामी हाम्रो पौरखमा चुनावमा लड्दैछौंँ, १० वर्षको  काम जनताले देखेका छन्, समृद्ध बैतडीको सङ्कल्प लिएर चुनावमा होमिएका छौँ।' 

यता सत्ता गठबन्धनका साझा उम्मेदवार कुँवर भने गठबन्धन एकढिक्का भएर चुनावमा होमिएकाले कुनै असन्तुष्टि नरहेको दाबी गर्नुभयो। उनले भने, 'टिकटका लागि गठबन्धनमा सामेल सबै दलका नेता लागेको भए पनि अहिले कुनै असन्तुष्टि छैन, सबै एकजुट भएर निर्वाचनमा होमिएका छौँ।' 

एक सिटका लागि ११ प्रतिस्पर्धी

प्रतिनिधिसभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन्। प्रतिस्पर्धामा रहेका भए पनि लोकतान्त्रिक –वाम गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले पनि चुनाव जित्ने दाबी गरिरहेका छन्। 

बैतडीमा प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य कुँवर चुनावी मैदानमा रहेका छन्। यस्तै एमालेका तर्फबाट प्रदेश कमिटी अध्यक्ष भण्डारी चुनावी मैदानमा छन् भने स्वतन्त्रबाट नेपाली कांग्रेसका नेता केशवबहादुर चन्द पनि चुनावी मैदानमा उत्रिएका छन्। 

यस्तै राप्रपाबाट देवबहादुर चन्द, स्वतन्त्रबाट त्रिलोकबहादुर चन्द, नेश्नलिस्ट पिपल्स पार्टीबाट कृष्णबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशचन्द्र भट्ट, नेपाल मजदुर किसान पार्टीबाट कृष्णप्रसाद गोसाइँ, जनता समाजवादी पार्टीबाट आनसिंह भण्डारी र स्वतन्त्रबाट मानसिंह विष्ट चुनावी मैदानमा हुनुहुन्छ। 

यसैबीच  प्रदेशसभा ९क०का लागि गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर विष्ट, एमालेका सुरेन्द्र पाल, राप्रपा नेपालका कृष्णा पन्त, नेकपा एकीकृत समाजवादीका नरेन्द्र विष्ट, राप्रपाका रणबहादुर विष्ट र स्वतन्त्रबाट नेपाली कांग्रेसका हरिमोहन भण्डारी चुनावी मैदानमा छन्।  

प्रदेशसभा (ख) मा गठबन्धनका साझा उम्मेदवार  नेपाली कांग्रेसका शिवराज भट्ट, एमालेका  लीलाधर भट्ट, राप्रपा  नेपालका प्रेमबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीका रेवती बोहरा र राप्रपाका नारायणदत्त जोशी प्रतिस्पर्धामा हुनुहुन्छ। हाल उम्मेदवारले प्रचारप्रसारमा तीव्रता दिएका छन्। यहाँ एक लाख ५० हजार एक सय ५६ मतदाता रहेका छन्।  
 

प्रकाशित मिति: १४:०३ बजे, बिहीबार, कात्तिक १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्