काठमाडाैं महानगरपालिकाका वडाअध्यक्ष रिजाललाई निर्वाचन आयोगद्वारा जरिवाना गर्ने निर्णय

काठमाडाैं, कात्तिक १६ : काठमाडौं महानगरपालिका १६ नम्बर वडा अध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले ५ हजार रुपैयाँ जरिवाना गर्ने भएको छ । वडाध्यक्ष रिजाल कांग्रेसको प्रचारप्रसारमा संलग्न भएको सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आयाेगले स्पष्टिकण साेधेकाे थियाे।
काठमाडौं क्षेत्र नम्बर ७ (२) का उम्मेदवार सबिन तामाङको प्रचारप्रसारमा संलग्न भएको पाइएको भन्दै आयोगले रिजाललाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको हो।
निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई आयाेगले जरिवाना गरेको यो नै पहिलो घटना हो।
आयोगले रिजाललाई निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा संलग्न भएको भन्दै कात्तिक २ मा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको थियो।
आचारसंहिताको दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष र विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाइने व्यवस्था छ।











