Kathmandu Press

काठमाडौं, सिरहा र रोल्पा चुनाव जित्न गएको थिइनँ : प्रचण्ड 

जनयुद्ध र जनआन्दोलनलाई एक ठाउँमा केन्द्रीत गरी नयाँ ऐतिहासिक प्रक्रियाको सन्देश दिँदै जनताको बीचमा भावनात्मक एकता पैदा गर्ने उद्धेश्यले आफू विभिन्न स्थानबाट चुनाव लडेको प्रष्ट पारेका छन् । 
काठमाडौं, सिरहा र रोल्पा चुनाव जित्न गएको थिइनँ : प्रचण्ड 

काठमाडौं, कात्तिक १६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चुनाव जित्नकै लागि गोरखा आएको भन्ने कुरामा सत्यता नभएको बताएका छन् । 

बुधबार एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूमाथि चुनाव जित्नकै लागि कहिले रोल्पा कहिले काठमाडौं हुँदै सिरहा र गोरखा पुगेको भनेर भ्रम छरिएको बताएका हुन् । 

उनले जनयुद्ध र जनआन्दोलनलाई एक ठाउँमा केन्द्रीत गरी नयाँ ऐतिहासिक प्रक्रियाको सन्देश दिँदै जनताको बीचमा भावनात्मक एकता पैदा गर्ने उद्धेश्यले आफू विभिन्न स्थानबाट चुनाव लडेको प्रष्ट पारेका छन् । 

तत्कालीन समयमा मधेशमा विग्रह र विद्रोह पैदा गराउने प्रयास भएको र त्यसलाई रोक्न आफू सिरहाबाट चुनाव लडेको प्रचण्डले बताए । ‘मधेशमा विग्रह गराउने, विद्रोह गराउने या राष्ट्रिय एकताको मूल प्रवाहबाट अलग लैजान खोज्ने प्रयास भइरहेका थिए । कहीँ न कहीँ नेपालको राष्ट्रिय एकतालाई कमजोर पार्ने खेल चलिरहेको थियो,’ प्रचण्डले भने,‘ परिवर्तनको वाहक हुनुको नाताले मधेशको जनतालाई हामीले विश्वासमा लिने जिम्मेवारी लिनुपर्छ , मधेशको जनतालाई पनि निर्वाचन प्रक्रियामा सहभागी गराउन कसै न कसैले हिम्मत गर्नुपर्छ भने गएँ।’ 

प्रचण्डले  मधेशी जनतामाथि आफूले गरेको भरोसा र विश्वासले काम गरेको र राष्ट्रिय एकता सुदृढ भएको बताए ।  

प्रचण्ड सँधै फरकफरक ठाउँबाट चुनाव लड्नुको कारण जनतालाई बुझाउन जरुरी रहेको पनि उनले बताए। ‘ प्रचण्डलाई के गरी कमजोर पार्ने भन्न एउटा वर्ग त उहीलेदेखि छन् । जनयुद्ध, शान्तिप्रक्रियादेखि अहिलेसम्म ती प्रयासहरु जारी छन् । उनीहरु भ्रम सिर्जना र बदनाम के गरी गर्न सकिन्छ त्यो गरिराख्छन् । हाम्रो काम चाहीँ त्यो भ्रम चिर्ने, घेरा तोड्ने, प्रतिवाद र प्रतिरोध गर्ने थियो, अहिलेपनि छ,’ उनले भने।  
  
 

प्रकाशित मिति: १६:४४ बजे, बुधबार, कात्तिक १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्