पिएम कप पुरुष क्रिकेटमा गण्डकी र लुम्बिनी विजयी
गण्डकीले कर्णाली प्रदेशलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो। बागमतीले दिएको १ सय ५५ रनको लक्ष्य लुम्बिनीले ३५ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो।
काठमाडौं, कात्तिक १६ : काठमाडौंमा जारी पिएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश विजयी भएको छ।
बुधबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा गण्डकीले कर्णाली प्रदेशलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो।
गण्डकीले दिएको २ सय ९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४७ ओभरमा अलआउट हुँदै १ सय ७६ रन बनाउन सक्यो। कर्णालीका हिमान्सु शाहीले ६९ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्।
कप्तान रविन्द्र शाहीले ४२ रन जोड्दा प्रकाश जैसीले १५ रन बनाए। गण्डकीका सुवास भण्डारी र चन्द्र पौडेलले ३/३ विकेट लिए। विपीन खत्रीले २ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो।
गण्डकीका लागि अभिषेक बस्नेतले ५१ रनको अर्धशतकीय इनिङ खेले। यस्तै अर्जुन कुमालले ४९ रन जोड्दा विधान श्रेष्ठले ४६ रन बनाए। कर्णालीका अनुज चुनाराले ४ विकेट लिए। प्रकाश जैसी र दिनेश अधिकारीले २ विकेट लिए।
त्यस्तै मुलपानी क्रिकेट मैदानमा बुधबार बागमती प्रदेशलाई ८ विकेटले हराउँदै लुम्बिनीले सुखद सुरुआत गरेको हो। बागमतीले दिएको १ सय ५५ रनको लक्ष्य लुम्बिनीले ३५ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा देव खनालले अविजित रहदै ७७ रनको अर्धशतकीय इनिङ खेले।
प्रज्वल थापाले २९ रन जोड्दा सन्दीप रजाली २९ रनमा अविजित रहे। आकाश त्रिपाठी ३ रनमा आउट भए। बागमतीका रिजन ढकाल र प्रतिष जिसीले १/१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ३८ ओभर १ बलमा अलआउट हुँदै १ सय ५४ रन बनाएको थियो।
बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३३ रन बनाए। लुम्बिनीका अनिल खरेलले ४ विकेट लिए। अभिषेक गौतम र विशाल बिक्रम केसीले २/२ विकेट लिए। जितसँगै लुम्बिनीले १ खेलमा २ अंक जोडेको छ। बागमती ३ खेलमा अंकविहीन रहेको छ।











