मोरङ ६ का उम्मेदवारहरूको प्रतिबद्धता : पूर्वाधार निर्माणमा जाेड
विराटनगरलाई दोस्रो ठूलो सहरको रुपमा विकसित गर्न संरचनाको निर्माण गर्ने, निर्यातमूलक उद्योगको स्थापना गर्ने, विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय बनाउने, रोजगारी उपलव्ध गराउने, स्वास्थ्य, प्राविधिक शिक्षामा सहज पहुँच उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ।
मोरङ, कात्तिक १६ : आसन्न प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका दलका प्रतिनिधिले रोजगारी, बाढी नियन्त्रणलगायतको जनताका कामलाई तीव्रता दिने गरी घरदैलो अभियानमा सक्रिय भएका छन्।
उनीहरुले जनताका घरघर, टोल, चोक, चिया पसलमा नागरिकसँग भेटघाट गरी वर्तमान अवस्थामा यस क्षेत्रमा रहेका समस्या समाधान गर्ने प्रतिबद्धतासहित मत माग्ने क्रम तीव्र बनाएका छन्। विराटनगरलाई दोस्रो ठूलो सहरको रुपमा विकसित गर्न संरचनाको निर्माण गर्ने, निर्यातमूलक उद्योगको स्थापना गर्ने, विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय बनाउने, रोजगारी उपलव्ध गराउने, स्वास्थ्य, प्राविधिक शिक्षामा सहज पहुँच उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ।
यस्तै सुकुम्वासी समस्या समाधान गर्ने, जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता उपलव्ध गराउने, खेलमैदान निर्माण, खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, विराटनगरको चक्रपथ निर्माणमा आवश्यक बजेट उपलव्ध गराउने, केशलिया खोलाको किनारमा विराटनगर रानीदेखि दुहवीसम्म सडक करिडोर निर्माण गर्ने जस्ता विकासका कार्य गर्ने उम्मेदवारहरुको प्रतिबद्धता छ।
उक्त क्षेत्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइराला, नेकपा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित, मङ्गोल नेशनल अर्गनाइजेशनका मोहनबहादुर राई ,राप्रपाका गोपाल क्षेत्री, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दुखीराम माझी, जनमत पार्टीका वुद्धिराम माझी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राजु मण्डल राजवंशी उम्मेदवार छन्।
यसैगरी अन्य उम्मेदवारमा जनता प्रगतिशील पार्टी नेपालका प्रशान्त ठाकुर, वहुजन शक्ति पार्टीका नारायण पासवान, हाम्रो नेपाली पार्टीका टेकबहादुर अधिकारी क्षेत्री, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधान, नागरिक उन्मुक्ति पार्टीका बलराम खवास, नेपाल मजदुर किसान पार्टीका चिरन्जीवी खतिवडा तथा स्वतन्त्रयद्वयमा सरोज नेपाल र सुशील खड्का उम्मेदवार छन्।
यस क्षेत्रमा कूल मतदाता एक लाख २६ हजार सात सय ६१ रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ। मोरङ क्षेत्र नं ६ अन्तर्गत बूढीगङ्गा गाउँपालिकाका सबै वडा, विराटनगर महानगरपालिकाको वडा नं ४,५,६,७,९,११ र १२, सुन्दरहरैचा नगरपालिकाको वडा नं २,३,४,५,६ र ७ नं वडा रहेका छन्।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा बूढीगङ्गा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जितनारायण थापा मगरले आठ हजार दुई सय ९९ र उपप्रमुखमा सोही पार्टीका अमृता कुमारी गच्छदारले नौ हजार ५० मत ल्याएर विजयी हुनुभएको थियो भने नेकपा एमालेका बलभद्र सदरदार थारुले सात हजार आठ सय आठ र उपाध्यक्षमा तुलसीकुमार कुँवरले छ हजार दुई सय २३ मत ल्याई पराजित भएका थिए।
यस्तै विराटनगर महानगरपालिका अन्तर्गत वडा नं ४ को वडाअध्यक्षमा नेकपा एमालेका जितन थापाले दुई हजार ९२, वडा नं ५ मा नेकांका सन्तोष न्यौपानेले एक हजार नौ सय ९४, वडा नं ६ मा नेकांका हरिषचन्द्र सहनीले दुई हजार दुई सय ९५, वडा नं ७ मा नेकांका मधुबाबु तिवारीले एक हजार ३१, वडा नं ९ मा नेकांका विश्वनाथ भगतले एक हजार तीन सय ४२, वडा नं ११ मा नेकपा एमालेका तीर्थेन्द्र न्यौपानेले एक हजार पाँच सय ५२ र वडा नं १२ मा जनता समाजवादी पार्टी नेपालका हीरालाल कामतले एक हजार तीन सय ७४ मत ल्याइ विजयी हुनुभएको थियो।
यसैगरी सुन्दरहरैचा नगरपालिका–२ मा नेकांका विवस प्रधानले एक हजार पाँच सय ७०, वडा नं ३ मा नेकपा एमालेका विदुरप्रसाद ढुङ्गानाले एक हजार आठ सय ९१, वडा नं ४ मा नेकांका कैलास बस्नेतले एक हजार सात सय ६०, वडा नं ५ मा नेकपा एमालेका गणेश चौधरीले दुई हजार तीन सय ३१, वडा नं ६ मा नेकांका सन्तोष लिङ्देनले एक हजार आठ सय २६ र वडा नं ७ मा स्वतन्त्र भुवनसिंह मगरले एक हजार चार सय २६ मत ल्याइए विजयी भएका थिए।
प्रतिनिधिसभा निर्वाचिन २०७४ मा यस क्षेत्रमा नेकपा एमालेका लालबाबु पण्डितले ३३ हजार नौ सय ४१ मत ल्याएर विजयी भएका थिए भने नेकांका डा शेखर कोइरालाले ३३ हजार दुई सय ६६ मत ल्याइ पराजित भएका थिए।












