निर्वाचन आयोगले योगेश भट्टराईलाई साेध्याे स्पष्टीकरण
ताप्लेजुङको प्रतिनिधिसभा सदस्य उम्मेदवार भट्टराईलाई घरदैलो कार्यक्रममा २५ जनाभन्दा बढी साथमा लिई हिँडेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।
काठमाडौं, कात्तिक १६ : निर्वाचन आयोगले एमाले उम्मेदवार योगेश भट्टराईलाई स्पष्टीकरण सोधेको छ। ताप्लेजुङको प्रतिनिधिसभा सदस्य उम्मेदवार भट्टराई स्पष्टीकरण सोधेको छ।
ताप्लेजुङको प्रतिनिधिसभा सदस्य उम्मेदवार भट्टराईलाई घरदैलो कार्यक्रममा २५ जनाभन्दा बढी साथमा लिई हिँडेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।
एमाले सचिवसमेत रहेका भट्टराईले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको सिरजंघा गाउँपालिका–३ सिकैचामा आचारसंहिताको उल्लंघन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको र उक्त विषय आफ्नो फेसबुक पेजबाटसमेत सार्वजनिक गरेको भनी उजुरी परेकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ख) मा “स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने’ उल्लेख छ।
त्यसैको खण्ड (ण) मा ‘निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जना भन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने’ व्यवस्था छ।











