विशेष सेवा गठन विधेयक फिर्ता लिन कांग्रेसको आग्रह
काठमाडौं, मंसिर ३० : नेपाली कांग्रेसले सरकारले हालै संघीय संसदमा दर्ता गराएको ‘नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धि कानूनलाई संशोधन र....
काठमाडौं, मंसिर ३० : नेपाली कांग्रेसले सरकारले हालै संघीय संसदमा दर्ता गराएको ‘नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ ले जनताको मौलिक हक समाप्त गरेर नागरिक स्वतन्त्रता निस्तेज गर्न खोजेको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेको छ।
सोमबार कांग्रेस संसदीय दलको तर्फबाट मुख्य सचेतक बालकृष्ण खाँडले विज्ञप्ति जारी गर्दै सरकारद्वारा अगाडि बढाइएको नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले नेपालको संविधानको मौलिक हकले प्रदान गरेको नागरिकको स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने, नागरिकका हरेक सूचना चुहावट हुने, गोपनियता भंग हुने र स्वतन्त्रतालाई समाप्त गर्ने प्रावधान राखी नेपालको संविधान प्रतिकूल ऐन बनाउने कार्य कांग्रेसलाई स्वीकार्य भएको भन्दै फिर्ता लिन आग्रह गरेका छन्।
‘सरकारले संसदमा दर्ता गरेको विधेयकले नेपालको संविधानमा उल्लेखित नागरिक स्वतन्त्रता, गोपनियताको हक लगायतको मौलिक हकको निस्तेज पार्न खोजेकोले उक्त विधेयकलाई तत्काल फिर्ता गर्न नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ, ‘संविधानको प्रतिकूल र नागरिकका स्वतन्त्रता र हित विपरित हुने खालका यस्ता विधेयकहरु प्रस्तुत नगर्न सरकारलाई नेपाली कांग्रेस सचेत गर्दछ।’











