Kathmandu Press

हिमपातले चार दिनदेखि १२ सर्वसाधारण सम्पर्कविहीन, हेलिकप्टरबाट खोजी गर्ने तयारी

जुम्ला, मंसिर ३० : हिमपातले चार दिनदेखि सम्पर्कविहीन भएका १२ जनाको हेलिकप्टरबाट खोजबिन गर्ने तयारी गरिएको छ।

जडिबुटी संकलनका लागि पाटनतिर गए....

हिमपातले चार दिनदेखि १२ सर्वसाधारण सम्पर्कविहीन, हेलिकप्टरबाट खोजी गर्ने तयारी

जुम्ला, मंसिर ३० : हिमपातले चार दिनदेखि सम्पर्कविहीन भएका १२ जनाको हेलिकप्टरबाट खोजबिन गर्ने तयारी गरिएको छ।

जडिबुटी संकलनका लागि पाटनतिर गएका जुम्लाको तिला गाउँपालिका–९ ढिपु गाउँका १२ जना चार दिनदेखि सम्पर्कविहीन भएका छन्। उनीहरु तिला गाउँपालिका–९ शेरा फुलबारी पाटनमा सम्पर्कविहीन भएका हुन्।

उनीहरुको खोजबिनका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको जुम्लाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले बताए। ‘पाटनतिर खोजविन गर्नका लागि सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा छ, तर भिजिबिलिटी कम भएकाले उड्न सकेको छैन,’ प्रजिअ श्रेष्ठले भने।

हुस्सु र कुहिरोले आकाश खुलेको छैन। जसले गर्दा हेलिकप्टर उड्न नसकेको उनले बताए। आकाश खुल्ने बित्तिकै हेलिकप्टर उड्ने उनले बताए।

तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले सम्पर्कविहीन भएको १२ जनाको बारेमा केही जानकारी नभएको बताए। उनका अनुसार, तिला गाउँपालिका–९ ढिपु गाउँका धनबहादुर बोहोरा, छविराज बोहोरा, जंग रावत, सुमबहादुर बोहोरा, नरवीर बोहोरा, तुलु बोहोरा, ननिलाल रावत, सूर्य रावत, कल्पना बोहोरा, लाउरी बोहोरा, रेश्मा बोहोरा र मनमाया बोहोरा सम्पर्कविहीन भएका छन्। उनीहरु जडिबुटी खोज्न बिहीबार पाटनतिर गएका थिए।

आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले हिमपातका कारण बेपत्ता भएका १२ जनाको उद्धार गर्न गृहमन्त्रालयमा पत्राचार गरेको थियो। उद्धारको लागि सबै सुरक्षा संयन्त्र तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।    

जुम्लामा पनि नेपाली सेनाको टोलीलार्य तयारी अवस्थामा राखिएको छ। हेलिकप्टर आउने वितिक्कै सैनिक टोली परिचालन हुने जनाएको छ।

प्रकाशित मिति: १२:१८ बजे, सोमबार, मंसिर ३०, २०७६