Kathmandu Press

पाँच दलीय गठबन्धन आवश्यकता हो : डा महत

खेलकुद क्षेत्र समन्वय प्रचारप्रसार उपसमिति गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा डा महतले कांग्रेस एक्लै चुनाव लडेरभन्दा गठबन्धनबाट लड्दा धेरै सिट जित्न सकिने भएकै कारण निर्वाचनमा पाँच दलीय गठबन्धनलाई रोजेर अगाडि बढेको बताए ।
पाँच दलीय गठबन्धन आवश्यकता हो : डा महत

काठमाडौं, कात्तिक १५ : नेपाली कांग्रेसका प्रवक्ता एवं चुनाव प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले पाँच दलीय गठबन्धन राजनीतिक आवश्यकता भएको बताएका छन् ।

खेलकुद क्षेत्र समन्वय प्रचारप्रसार उपसमिति गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा डा महतले कांग्रेस एक्लै चुनाव लडेरभन्दा गठबन्धनबाट लड्दा धेरै सिट जित्न सकिने भएकै कारण निर्वाचनमा पाँच दलीय गठबन्धनलाई रोजेर अगाडि बढेको बताए ।

“कांग्रेस ठूलो पार्टी हो, अन्य दलका भन्दा धेरै मतदाता र नेता छन् । तर प्रत्यक्ष निर्वाचनमा थोरै मतले हारजित हुने गर्छ, एक सय ६५ निर्वाचन क्षेत्रमा उम्मेदवार दिएर थोरै सिट जित्नुभन्दा ९१ ठाउँमा उम्मेदवार दिएर धेरै सिट जित्ने सिद्धान्तअनुसार नै कांग्रेस अगाडि बढेको हो”, उनले भने, “सीमित नेताले मात्र टिकट पाएका छन्, चित्त सानो नगरी कांग्रेस तथा पाँच दलीय गठबन्धनअन्तर्गत निर्वाचनमा उम्मेदवार बनेका अन्य पार्टीका उम्मेदवारलाई जिताउन हरेक कांग्रेस कार्यकर्ता सक्रिय भएर लागौँ ।

निर्वाचनमा एक भोटले पनि ठूलो महत्व राख्ने उल्लेख गर्दै डा महतले  जनतामाझ प्रचारप्रसार गर्न नसक्दा कांग्रेस पछि परेको बताए । संविधानको रक्षा र राजनीतिक स्थायित्वका लागि पाँच दलीय गठबन्धन अगाडि बढेको उनको भनाइ थियो । प्राप्त उपलब्धिको रक्षा गर्दै यही संविधानलाई टेकेर समयको मागअनुसार संविधान संशोधन गर्ने कांग्रेसको बाटो रहेको डा महतले बताए ।

कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले कांग्रेसले मात्र लोकतन्त्रको रक्षा गर्न सक्ने उल्लेख गर्दै पार्टीमा युवा वर्ग र महिलालाई समेटेर अगाडि बढ्नुपर्ने बताईन् । कांग्रेसले आफूले गरेका कामलाई प्रचारप्रसार गर्न नसक्दा पछि परेको उनको भनाइ थियो ।

कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पाँच दलीय गठबन्धनको साझा लक्ष्य समृद्ध नेपाल निर्माणका लागि रहेको बताए । 

प्रकाशित मिति: २०:०६ बजे, मंगलबार, कात्तिक १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्