Kathmandu Press

कैलाली–४ मा दुई हेभिवेट : लेखराजलाई एमालेकै डर, बलायरलाई गठबन्धनको भर 

पार्टीका सचिव र सुदूरपश्चिम इन्चार्ज रहेका लेखराज भट्ट एमालेबाट पहिलोपटक चुनाव लड्दै छन् । एमालेको असन्तुष्ट पक्ष र गठबन्धनको बलियो साथ लिएर बलायर ०७४ को हारको बदला लिने दाउमा छन् । 
कैलाली–४ मा दुई हेभिवेट : लेखराजलाई एमालेकै डर, बलायरलाई गठबन्धनको भर 

काठमाडौं, कात्तिक १५ : यसपालिको संसदीय चुनावमा कैलाली–४ लाई विशेष चासोका साथ हेरिएको छ । किनकी यसपालि कैलाली–४ मा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट र गठबन्धनबाट कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर आमनेसामने भएका छन् । 

यी दुबै नेताहरु पूर्वमन्त्री पनि हुन् । एमालेका सचिव समेत रहेका भट्ट ओली नेतृत्वको अघिल्लो सरकारमा उद्योगमन्त्री भएका थिए । उनी अघिल्लो  दुईपटकको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भइसकेका व्यक्ति हुन् । भट्ट ०६४ र ०७० मा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । 

तर, एमालेबाट भने भट्ट पहिलो निर्वाचन लड्दै छन् । माओवादी केन्द्रमा रहँदा भट्ट प्रचण्डको प्रीय पात्र तथा सुदूरपश्चिमको प्रभावशाली नेता मानिन्थे । नेकपा हुँदै प्रतिनिधि सभा विघटन र त्यसपछिको राजनीतिक घटनाक्रमपछि भट्ट एमालेमा लागेका थिए । 

लेखराजलाई एमालेकै डर

माओवादी छाडेर एमाले आएपछि अध्यक्ष अ‍ोलीले भीम रावलबाट खोसेर भट्टलाई सुदूरपश्चिम प्रदेशको कमान्ड सम्हाल्ने जिम्मेवारी दिएका थिए । भट्ट एमालेमा लागेपनि सुदूरपश्चिमका एमालेजन उनको विरुद्ध रहेको चर्चा सुनिन्छ । त्यतिबेला रावललाई उपेक्षा गरेको भन्दै भट्ट र सिंगो पार्टी नेतृत्वमाथि सुदूरपश्चिमका एमाले रुष्ट थिए। 

सुदूरपश्चिममा रावल प्रभावशाली नेता मनिन्छन् । एमाले महाधिवेशन, अध्यक्षमा रावलको उम्मेदवारी र त्यसपछि ओली– रावल सम्बन्धको प्रत्यक्ष प्रभाव सुदूरपश्चिमको निर्वाचनमा देखिने आकलन छ । पछिल्लो समय ओली– रावल टकराव र र नेतृत्वले रावलमाथि गर्ने व्यवहारका कारण पनि सुदूरपश्चिममा एमालेमाथि धक्का लाग्न सक्ने सम्भावना रहेको जानकारहरु बताउँछन् । यसरी हेर्दा भट्ट एमालेकै मतदाताबाट असुरक्षित देखिन्छन्।   

पूर्वमन्त्री बलायर यीनै कमजोरी र गठबन्धनलाई साथ लिएर ०७४ को पराजयको बदला लिने दाउमा छन् । ०७४ मा बलायर डोटीबाट चुनाव लडेका थिए । उनी वाम गठबन्धनबाट एमाले उम्मेदवार  प्रेम आलेसँग करिब  १६ सय मतान्तरले पराजित भएका थिए । यसपटक एमाले विभाजित छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले एमालेको भोट काट्ने र गठबन्धनका अन्य दलहरुको पनि राम्रै मत भएका कारण आफू जित्नेमा ढुक्क भएको बलायर बताउँछन् । 

यद्यपि, यसपालिको निर्वाचनमा पनि डोटीबाट आकाङ्क्षी बलायरलाई कैलाली–४ बाट टिकट दिइएपछि यो क्षेत्रबाट आकाङ्क्षी कांग्रेसका कतिपय नेता असन्तुष्ट छन् । तर बलायर पार्टीको निर्णयमा सबै नेता कार्यकर्ताको समर्थन रहने र आफूलाई जिताउन लाग्ने बताउँछन् ।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं प्रभावशाली नेता सुनिलकुमार भण्डारी, डा लक्ष्मीराज पाठक, टेकराज जोशी, प्रकाशबहादुर बम लगायतका नेता यो क्षेत्रबाट टिकटका आकाङ्क्षी रहेका थिए । बलायरलाई कैलाली–४ बाट टिकट दिइएपछि यसको असन्तुष्टिको फाइदा लिने दाउमा  एमालेका प्रत्याशी भट्ट छन्। 

यसै क्षेत्रबाट २०७४ को निर्वाचनमा प्रत्याशी रहेका नेपाली कांग्रेसका नेता सुनिलकुमार भण्डारीलाई तत्कालीन वाम गठबन्धनका प्रत्याशी नेकपा (माओवादी केन्द्र)का नेता लेखराज भट्टले झन्डै नौ हजार मतान्तरले पराजित गरेका थिए। 

असन्तुष्ट मतदाता तान्ने दाउमा चौधरी   

यसै क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले अघि सारेका कइँया चौधरी पनि छन्।   

तत्कालीन राष्ट्रिय पञ्चायत सदस्यको जिम्मेवारीमा पुगेका चौधरीलाई सो क्षेत्रका मतदाताको दरिलो साथ रहने अनुमान गरिएको छ । उनले भने, ‘जहाँ चुनौती छन् त्यहाँ अवसर पनि हुन्छ भन्ने मान्यतालाई आत्मसात् गरेर आफू यो क्षेत्रको प्रत्याशी बनेको हुँ।’ आफू विजयी भएर गएमा टीकापुर घटनाका बन्दीको रिहाइको पहल गर्न र समाजिक सद्भाव कायम गर्न पहल गर्ने उनले बताए। 

सबै दलभित्रका असन्तुष्ट कार्यकर्ता र शुभेच्छुकको मत तान्ने रणनीतिमा चौधरी छन्। कतिपय मतदाता चौधरीले पाउने मतले चुनावी नतिजा प्रभावित हुनसक्ने बताउँदै आएका छन्।

यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि बलायर, भट्ट र चौधरीबाहेक राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्दप्रसाद भट्ट, मौलिक जरोकिलो पार्टीका चेतराज साउद, राप्रपाका जयबहादुर साउद, नेपाल सङ्घीय समाजवादीका भीमबहादुर थापामगर, जनता प्रगतिशील पार्टीका मोहनदेव मिश्र, नेमकिपाका सीताराम पण्डित र स्वतन्त्र मेघराज जोशीसमेत प्रतिस्पर्धामा छन्।

स्थानीय तहमा गठबन्धन बलियो  

कैलालीको गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, चुरेगाउँपालिका र मोहन्याल गाउँपालिकाको एउटा वडा समेटिएको यो क्षेत्रमा एक लाख १० हजार चार सय ५३ मतदाता छन् ।  यहाँ ६४ मतदानस्थल र ७० मतदान केन्द्र रहेका छन् ।

गएको स्थानीय निर्वाचनमा कांग्रेससका वडाध्यक्षले २३ हजार नौ, नेकपा माओवादी केन्द्रका वडाध्यक्षले नौ हजार तीन सय ४२, नेकपा एकीकृत समाजवादीका वडा अध्यक्षले तीन हजार सात सय चार मत पाएका थिए । नेकपा एमालेका वडाध्यक्षले २० हजार ८० मत पाएका थिए। 

स्थानीय निर्वाचनको परिणामलाई आधार मान्दा बलायरले जित्ने सम्भावना बढी देखिन्छ ।  
 

प्रकाशित मिति: १९:१७ बजे, मंगलबार, कात्तिक १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्