चुनावी भिडन्तमा पाका र युवा नेताको ‘केमेस्ट्री’

काठमाडौं, कात्तिक १५ : मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फ युवाहरूको उम्मेदवारी बाक्लो देखिएको छ। सांसद बन्ने आकांक्षासहित ४० देखि ५० वर्षबीचका अधिकांश उम्मेदवार दुवै तहको चुनावी मैदानमा खडा भएका छन्।
प्रतिनिधि सभाका लागि ४०–५० को विचमा ७ ३१ जना प्रतिस्पर्धामा उत्रिएका छन्। निर्वाचन आयोगको तथ्यांकअनुसार ७० वर्षमाथि पाको उमेरका ८० जना मात्र चुनावी प्रतिस्पर्धामा छन्। २५ देखि २९ सम्मका १६३ जना चुनावी प्रतिस्पर्धामा छन्। ३० देखि ३९ वर्षसम्मका ५५५ जना चुनावमा उत्रिएका छन्। चुनावी जोडघटाउ र प्रमुख दलका पाका नेताको जबर्जस्त उपस्थितिका कारण सम्भवतः ६५ माथि र ८० वर्षमुनिको समूहले नै मुलुकको बागडोर समाल्ने अवस्था देखिन्छ।
६० वर्षमाथि र ७० मुनिका ३७४ जना प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवार छन्। अहिलेको निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट सबैभन्दा पाका उमेरका टीकादत्त पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्। उनले सोमबारदेखि सय वर्षमा टेकेका छन्। पोखरेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (६८ वर्ष) सँग चुनावी भिडन्तमा छन्। बागलुङ १ बाट राष्ट्रिय जनमोर्चा (राजमो) का अध्यक्ष चित्रबहादुर केसी ८० वर्षको उमेरमा उम्मेदवार बनेका छन्। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल (७८ वर्ष) तनहँु १ बाट उम्मेदवार छन्।
यस्तै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ७७ वर्षको उमेरमा डडेलधुरा १ बाट चुनावी प्रतिस्पर्धा गर्दैछन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता लक्ष्मणलाल कर्ण पनि ७५ वर्षमा चुनाव लड्दैछन्। उनी पर्सा १ बाट चुनावमा भिडेका हुन््।
परराष्ट्रमन्त्री एवं कांग्रेस नेता नारायण खड्का ७३ वर्षको उमेरमा उदयपुर १ बाट प्रतिस्पर्धा गर्दैछन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल ७२ वर्षमा इलाम १ बाट प्रतिनिधिसभामा उठेका छन्।
यता नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पनि ७२ वर्षको उमेरमा झापा ३ बाट चुनाव लड्दैछन्। ७६ वर्षीय कांग्रेस नेता शेखर कोइराला पनि मोरङ ६ बाट उम्मेदवार छन्। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ७० वर्षको उमेरमा चुनावी मैदानमा भिडेका छन्। ओली झापा ५ बाट प्रतिनिधिसभाका लागि प्रतिस्पर्धामा उत्रेका हुन्।
५८ वर्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेन झापा ३ बाट चुनावी प्रतिस्पर्धामा छन्। पूर्वसभामुख रहेका एमाले नेता सुवास नेम्वाङले ६९ वर्षको उमेरमा इलाम २ बाट उम्मेदवारी दिएका छन्। पूर्वप्रधानमन्त्री रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेपाल पनि ६९ वर्षको उमेरमा रौतहट १ बाट भिडेका छन्। एमाले नेता ईश्वर पोखरेल ६८ वर्षको उमेरमा काठमाडौं ५ बाट प्रतिस्पर्धामा छन्।
कांग्रेस नेता प्रकाशमान सिंह ६६ वर्षकै उमेरमा चुनावी काठमाडौं १ बाट उम्मेदवार छन्। यस्तै माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल ६५ वर्षमा चुनावी दौडमा छन्। पोखरेल मोहोत्तरी १ बाट प्रतिश्पर्धा गर्दैछन्। राप्रपा नेता धवलशमशेर राणा पनि ६१ वर्षमा चुनाव लड्दै छन्। राणाले बाँके २ बाट मनोनयन दर्ता गरेका छन्। यता ५६ वर्षका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा १ बाट प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गर्दैछन्।
५६ वर्षकै एमाले नेता योगेश भट्टराई पनि ताप्लेजुङ १ बाट चुनावमा उठेका छन्। पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि ५६ वर्षमै काठमाडौं ६ बाट चुनावी प्रतिस्पर्धामा छन्। एमालेका अर्काै नेता विशाल भट्टराई ५३ वर्षमा खोटाङ १ बाट भिडेका छन्। एमालेबाट कारबाहीमा परेका प्रभु साहले ५१ वर्षको उमेरमा रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। पूर्वसभामुख रहेकी माओवादी नेतृ ओनसरी घर्ती ४४ वर्षमा उम्मेदवार बनेकी छन्।
घर्ती काठमाडौं २ बाट चुनावमा भिडेकी छन्। नेपाल कांग्रेसका महामन्त्री गगन थापा पनि ४८ वर्षमा काठमाडौं ४ बाट उम्मेदवार छन्। कांग्रेसका युवा नेता प्रदीप पौडेल पनि ४८ वर्षको उमेरमै काठमाडौं ५ बाट उम्मेदवार बनेका छन्।











