पिएम कप क्रिकेट : अंकितको शतकमा बागमतिमाथि प्रदेश १ को जित
मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा अंकित सुवेदीको शतक मद्दतमा प्रदेश १ ले बागमति प्रदेशमाथि ६९ रनको जित निकाल्यो।
काठमाडाैं, कात्तिक १५ : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा प्रदेश १ विजयी भएको छ। मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा अंकित सुवेदीको शतक मद्दतमा प्रदेश १ ले बागमति प्रदेशमाथि ६९ रनको जित निकाल्यो।
पहिला ब्याटिङ गर्दै प्रदेश १ ले दिएको ३०५ रनको लक्ष्य पछ्याएको बागमति प्रदेश ३५.५ ओभरमा २३५ रनमै अलआउट भयो । उसका लागि नन्दन यादवले सर्वाधिक ४८ रन बनाउँदा इशान पाण्डेले ३५, रामनरेश गिरीले २८ रनको योगदान दिए।
प्रदेश १ का श्रवण यादवले ३ तथा फिर्दोस अन्सारी, दीपक जैसी र सिद्धान्त लोहनीले समान २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको प्रदेश १ ले अंकितको शतक र सिद्धान्त लोहनीको विस्फोट अर्धशतक मद्दतमा १ बल बाँकी छँदा अलआउट हुँदै ३०४ रन बनायो। अंकितले १३४ बल खेल्दै १२ चौका र १ छक्काको सहयोगमा ११० रन बनाए।
यस्तै, विस्फोटक ब्याटिङ गरेका सिद्धान्तले ४० बलमा ७२ रन बनाए। उनले ३ चौका र ८ छक्का प्रहार गरे। यस्तै, विवेक आनन्द मेहताले ३० रन बनाए। बागमतिका रामनरेश गिरीले ५ विकेट लिए।











